बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भिनफास्टका ईभी भारतीय बजारमा : पुराना अटोमोबाइल कम्पनीलाई दिनसक्ला चुनौती?

एडभान्स्ड अटोमोबाइलले ल्याउँदै छ नेपाल

सोमबार, भदौ २३ २०८२
भिनफास्टका ईभी भारतीय बजारमा : पुराना अटोमोबाइल कम्पनीलाई दिनसक्ला चुनौती?

विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार भारत प्रवेश गरेको भिनफास्टले भारतीय बजारसँग ठूलो अपेक्षा राखेर उल्लेख्य रकम लगानीसमेत गरिरहेको छ।

काठमाडौं- भारतीय अटोमोबाइल बजारमा नयाँ प्रतिस्पर्धी थपिएको छ, त्यो पनि विद्युतीय सवारीसहित। भारत विद्युतीय सवारी उत्पादन र बिक्रीका रुपमा भर्खर बामे सर्दै गरेको अवस्थामा छ। यहीबीचमा भियतनामको विद्युतीय सवारी स्टार्टप कम्पनी भिनफास्टले औपचारिक प्रवेश गरेको हो।

विश्वको तेस्रो ठूलो अटोमोबाइल बजार भारत प्रवेश गरेको भिनफास्टले भारतीय बजारसँग ठूलो अपेक्षा राखेर उल्लेख्य रकम लगानीसमेत गरिरहेको छ। भारतले पछिल्लो सयम विद्युतीय सवारीको विस्तार र विकासमा वित्तीय सहुलियतदेखि नीतिजत सहजतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। 

गएको जुलाईमा भारतीय बजारमा विद्युतीय सवारीको रिटेल बिक्री गत वर्षको तुलनामा ९३ प्रतिशतले वृद्धि भएको हो। भारतीय विद्युतीय सवारी बजारलाई टाटा मोटर्सले लिड गरिरहेको छ। भारतले २०३० सम्म पुग्दा विद्युतीय सवारीको बिक्री ३० प्रतिशत पुग्ने अपेक्षा गरेको छ। 

भारतमा टाटा मोटर्स, महिन्द्रा, एमजी, हुन्डाई, कियालगायत सवारी उत्पादकले विद्युतीय कार उत्पादनमा लगानी बढाइरहेका छन्। त्यस्तै भारतमा टेस्ला गएको महिना औपचारिक रुपमा प्रवेश गरेको हो। यसले पनि भारतको विद्युतीय कार बजार निक्कै प्रतिस्पर्धी बन्ने देखाएको छ। यो सन्दर्भमा भिनफास्टको प्रवेशले बजार प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। 

भिनफास्टले भारतीय बजारबाट निकै ठूलो अपेक्षा राखेको छ। आगामी ५ देखि १० वर्षभित्रमा भिनफाट भारतको मुख्य अटोमोबाइल प्लेयर हुने रेसमा भिनफास्ट छ।

‘आगामी ५ देखि १० वर्षमा हामी भारतीय ईभी बजारमा मुख्य प्लेयरको रुपमा उदाउने छौँ,’ भिनफास्ट एसियाका सीईओ फाम सान्ह चाउले भने, ‘यसका लागि हामी पर्याप्त लगानी गर्ने योजनासहित काम गरिरहेका छौं। यसले भारतमा ईभी रिभोलुसन र ठूलो संख्यामा रोजगारी सृजना गर्नेछ।’ 

vinfast.jpeg

भिनफास्टले भारतीय बजारमा पहिलो चरणमा भीएफ सिक्स र भीएफ सेभेन सार्वजनिक गरेको छ। कम्प्याक्ट एसयूभी सेगमेन्टको भीएफ सिक्स ईभीको मूल्य १६ लाख ४० हजार भारु र मिड साइज एसयूभी भीएफ सेभेनको सुरुवाती मूल्य २० लाख भारु हरेको छ। भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापना गरेर कार उत्पादनको अन्तिम तयारीमा रहेको छ। 

भिनफास्टले भारतमा २ अर्ब अमेरिकी डलर लगानी गरेर आउने घोषणा गरेको हो। अमेरिकासहित केही महत्वपूर्ण बजारमा प्रवेश गरिसकेको भिनफास्टले भारतको तामिलनाडूमा प्लान्ट स्थापना गरेको र कम्पनीले २०२५ भित्रमा भारतीय प्लान्टबाट विद्युतीय कार उत्पादन थालिसक्ने बताएको छ। 

तामिलनाडूमा स्थापना हुने प्लान्ट बनाउन सुरुवाती चरणमा ५० करोड डलर लगानी गर्ने घोषणा यसअघि नै गरेर सोहीअनुसार काम गरिरहेको द इकोनोमिक टाइम्सले लेखेको छ। उक्त प्लान्टबाट प्रिमियम तथा मास मार्केट ईभी उत्पादन गर्ने र वार्षिक १ लाख ५० हजार कार बनाउने लक्ष्य भिनफास्टले लिएको छ। 

भियतनामी व्यवसायिक समूह भिनग्रुपको स्वामित्वमा रहेको भिनफास्ट विद्युतीय सवारीमात्र उत्पादन गर्नेगरी स्थापना भएको हो। कम्पनीले विश्वव्यापी बजार विस्तार गर्ने क्रममा भारतमा पनि प्लान्ट स्थापन गरेको हो।

भारतबाहेक भिनफास्टले अमेरिकामा विद्युतीय कार उत्पादन प्लान्ट बनाउन ४ अर्ब डलर लगानी गरिरहेको छ। अमेरिकामा बनेको उक्त प्लान्टबाट कार उत्पादन सुरु भइसकेको कम्पनीले जनाएको छ। 

नेपालमा एडभान्स्ड अटोमोबाइलले ल्याउँदै छ भिनफास्ट

विश्व बजारमा चर्चा बटुलिरहेको भियतनामको विद्युतीय सवारी उत्पादक कम्पनी भिनफास्टको नेपालका लागि आधिकारिक बिक्रेतामा एडभान्स्ड अटोमोबाइल प्रालि यसअघि नै नियुक्त भइसकेको छ। विशाल समूहअन्तर्गतको एडभान्स्ड अटोमोबाइलले भारतमा उत्पादन भएपछि भिनफास्टका कार नेपाल भित्र्याउने छ। 

भिनफास्ट भारतमा आउने निश्चित भएसँगै नेपालमा आधिकारिक वितरक हुनका लागि व्यावसायिक समूह तथा अन्य व्यक्ति समूह बनाएरै डिलरसिप ल्याउन लागिपरेका थिए। २०२५ को अन्त्यसम्ममा एडभान्स्ड अटोमोबाइलले भिनफास्टका विद्युतीय कार नेपाल आइपुग्ने जनाएको छ। 

भविष्यको टेस्लाको रुपमा पश्चिमा बजारमा भिनफास्टको चित्रण गरिँदे आएको छ। अमेरिका तथा युरोपेलमा बजार विस्तारको चरणमा रहेको भिनफास्टले पछिल्लो समय दक्षिण एसियाली बजारलाई केन्द्रित गरेर भारतमा उत्पादन थालेको हो। 

सन् २०१७ मा स्थापना भएको भिनफास्टले २०१९ मा पहिलो कार बजारमा उतारेको थियो। अमेरिकी मोटर कम्पनी जेनरल मोटर्ससँगको साझेदारीमा कार उत्पादनमा हात हालेको भिनफास्टले ब्याट्रीका लागि बीएमडब्लूसँग साझेदारी गरेको छ।


प्रकाशित : सोमबार, भदौ २३ २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend