बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गण्डकी प्रदेशमा गत आवमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

शनिबार, भदौ २१ २०८२
गण्डकी प्रदेशमा गत आवमा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान

प्रदेश सरकारले गतवर्ष सम्पन्न भएका ११ वटासहित ११२ वटा सडक पुल निर्माण गरेको छ।

म्याग्दी- गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ।

आर्थिक वर्ष २०८१/८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलव ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाले प्रदेश सरकारले गतवर्ष सम्पन्न भएका ११ वटासहित ११२ वटा सडक पुल निर्माण गरेको जानकारी दिए। उनका अनुसार गत वर्षको ६६ दशमलव ७३ किलोमिटरसहित हालसम्म ७६२ दशमलव ७३ किलोमिटर सडक ग्राभेल भएको छ।

गत वर्षको पाँच वटासहित ८७ वटा झोलुंगे पुल र ३९ वटासहित ६७ वटा भवन निर्माण तथा मर्मत भएको बानियाले बताए। गत आर्थिक वर्षमा १२ अर्ब ७१ करोड आठ लाख ६९ हजार रूपैयाँ बजेट विनियोजन गरेको मन्त्रालयले ७६ दशमलव ५२ प्रतिशत अर्थात नौ अर्ब ७२ करोड ६७ लाख ३७ हजार खर्च गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले मन्त्रालयले पछिल्लो पाँच वर्षयताकै धेरै बजेट खर्च गरेको बताए। यस वर्ष पुराना योजनालाई पूर्णता दिन बहुवर्षीय योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उनले बताए। 

मन्त्रालयले गत वर्ष चार अर्ब २७ करोड ६५ लाख ५६ हजार रूपैयाँ लागत अनुमान गरिएको ४७ सडक, १३ सडक पुल, १३ झोलुंगे पुल र एक वटा भवन निर्माणका लागि गत वर्ष बहुवर्षीय ठेक्का लगाएको छ। आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा बहुवर्षीय योजना सम्पन्न भएका छन्। 

हाल २७१ बहुवर्षीय योजना निर्माणाधीन छन्। निर्माणाधीनमध्ये १८६ प्रदेश सडक, चार संघीय सडक, डिजाइन एण्ड बिल्ड माध्यमबाट निर्माण गर्नेगरी ठेक्का लागेका सात र तीनवटा संघीयसहित ६६ वटा सडक पुल, १२ वटा झोलुंगे पुल र तीन वटा भवन छन्। 

मन्त्रालयले सञ्चालन गरेका २० योजना समस्याग्रस्त छन्। बहुवर्षीय योजनामा १० अर्ब १५ करोड ८१ लख ७४ हजार रूपैयाँ दायित्व रहेकोमा आर्थिक वर्ष २०८२/०८३ मा चार अर्ब ७७ करोड ८३ लाख ३४ हजार रूपैयाँ विनियोजन भएको छ। 

सालबसाली योजनाको ठेक्का लगाउँदा बचत भएको रकम बहुवर्षीय योजनामा आन्तरिक रकमान्तर गरेर आर्थिक स्रोतको व्यवस्थापन गरिएको मन्त्रालयका सचिव कमलबहादुर अधिकारीले बताए। गत वर्ष सालबसाली योजनाको ठेक्काबाट बचेको एक अर्ब ९४ करोड एक लाख ३१ हजार रूपैयाँ बहुवर्षीय योजनामा रकमान्तर गरिएको थियो। रासस


प्रकाशित : शनिबार, भदौ २१ २०८२११:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend