बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

१ अर्ब २२ करोड लागतमा भोजपुर-दिङ्ला सडक कालोपत्र गरिँदै

शनिबार, भदौ २१ २०८२
१ अर्ब २२ करोड लागतमा भोजपुर-दिङ्ला सडक कालोपत्र गरिँदै

दोस्रो खण्ड भोजपुर-दिङ्ला-तीनतले-दिङ्ला १६ किलोमिटर सडक ६३ करोड ९२ लाख ६२ हजार ७६१ रूपैयाँ लागतमा निर्माण भइरहेको छ।

भोजपुर- भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर-दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ। कोशी प्रदेश सरकारको एक अर्ब २२ करोड ३२ लाख रूपैयाँ लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो।

पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक ५८ करोड ४० लाख १५ हजार ५६१ रूपैयाा लागतमा काम भइरहेको छ। विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ। यो सडकको भौतिक प्रगति ४५ प्रतिशत हारहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ।

दोस्रो खण्ड भोजपुर-दिङ्ला-तीनतले-दिङ्ला १६ किलोमिटर सडक ६३ करोड ९२ लाख ६२ हजार ७६१ रूपैयाँ लागतमा निर्माण भइरहेको छ। विसं २०८० पुस महिनामा सम्झौता भएको यो सडकको २०८२ पुस महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिए। यो सडकको भोतिक प्रगती २० प्रतिशत रहेको छ। यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने प्रमुख रेड्डीको भनाइ छ। 

'भोजपुर-दिङ्ला सडक कालोपत्रको काम दुई खण्डमा भइरहेको छ', प्रमुख रेड्डीले भने, 'यो सदरमुकामलाई उत्तरी क्षेत्र जोड्ने महत्वपूर्ण सडक पनि हो। सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ।'

सडक कालोपत्रको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द १० का स्थानीय निमा शेर्पाले बताए। सडक कालोपत्र भएपछि यहाँका कृषि उपजको बजारिकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता हुने उनको भनाइ छ। सडक कालोपत्र भएपछि बर्सातको समयमा सङ्खुवासभा जिल्ला घुमेर  भोजपुर सदरमुकाम जानु पर्ने बाध्यताकोसमेत अन्त्य हुने उहाँले जानकारी दिए।

यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। सडकलाई निर्धारित समयमा गुणस्तरीयढंगले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ।

'यो उत्तरी क्षेत्रको लागि महत्वपूर्ण सडक हो', प्रमुख उदासले भने, 'सडक कालोपत्र हुने गरी काम थालिएपछि स्थानीयमा उत्साह बढेको छ। कालोपत्रको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको छ।'

सडकको पहिलो खण्डको निर्माणको जिम्मा निर्माण कम्पनीले लिएका छन्। रासस


प्रकाशित : शनिबार, भदौ २१ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend