गुल्मी- नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडान तालिका परिवर्तन गरेको छ।
निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएकामा अब केही समयका लागि सातामा एकपटक मात्र उडान हुने जनाएको छ।
रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले विगतमा चारपटक उडान हुँदै आएकामा अब केही समयका लागि बिहीबार एकदिन मात्र उडान गरिने जानकारी दिए। निगमका दुईवटा ट्वीनअटर जहाज ‘ग्राउण्डेड’ भएको र हाल एउटा जहाज मात्र सञ्चालनमा रहेकाले नियमित तालिकामा परिवर्तन गर्नुपरेको उनले बताए।
प्रतिकूल मौसमका कारण यहाँ करिब डेढ महिनासम्म उडान नियमित हुन सकेको थिएन। खराब मौसम र बाक्लो हुस्सुका कारण जिल्लामा पटकपटक उडान प्रभावित हुने गरेको छ।
निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौंदेखि रेसुंगा बिहान ६ः३० बजे र रेसुंगाबाट काठमाडौं बिहान ७ः३० बजे उडानको तालिका निर्धारण गरेको छ।
यस्तै काठमाडौंबाट गुल्मीका लागि ७ हजार ५ सय र गुल्मीदेखि काठमाडौंका लागि ७ हजार ३ सय रुपैयाँ भाडादर निर्धारण गरेको छ।
निगमले विसं २०८० बैशाख २९ गतेदेखि रेसुंगामा व्यावसायिक रूपमा उडान सुरु गरेको थियो। रासस


