बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हनुमानढोका दरबार क्षेत्रमा १९ करोड ४६ लाख राजस्व संकलन, पहिलेभन्दा दुई करोड रुपैयाँ बढी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २० २०८२
हनुमानढोका दरबार क्षेत्रमा १९ करोड ४६ लाख राजस्व संकलन, पहिलेभन्दा दुई करोड रुपैयाँ बढी

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेका छन्।

काठमाडौं- गत आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको राजस्वमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँले राजस्वमा वृद्धि भएको हनुमानढोका दरबार क्षेत्र कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।

प्रमुख प्रधानका अनुसार अघिल्लो आव २०८०/८१ मा १७ करोड ६९ लाख आम्दानी गरेकामा गत आव २०८१/८२ मा १९ करोड ४६ लाख राजस्व संकलन गरेको छ। अघिल्लो आवमा उक्त क्षेत्र अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या रार्क राष्ट्रबाट ४७ हजार ३९९ जना रहेकामा अन्य देशबाट आउने सङ्ख्या एक लाख ५३ हजार २६२ जना रहेका थिए। 

त्यसैगरी गत आवमा सार्क राष्ट्रबाट ५० हजार ५३३ जनाले अवलोकन गरेकामा अन्य देशका एक लाख ६९ हजार ३९५ जानले उक्त क्षेत्रको अवलोकन गरेका छन्। अघिल्लो आवभन्दा गत आवमा पर्यटकको सङ्ख्यामा वृद्धि भएकाले आम्दानी बढेको प्रधानको भनाइ छ।

सो कार्यालयको विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकबाट प्रवेश शुल्कबाट लिइने रकम नै आम्दानी हो। हाल यहाँ उक्त ऐतिहासिक स्थान घुम्न आउने पर्यटक सार्क राष्ट्रका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ भने अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार निर्धारण गरिएको छ। नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ।

उक्त स्थान अवोकनका लागि जुनसुकै समयमा गर्न सकिने भए पनि जीवित देवी कुमारी हेर्नका लागि भने बिहानका लागि ११ देखि १२ः३० सम्म र साँझ ५ देखि ८ बजेको समय तोकिएको छ। 

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक सात सयसम्म पर्यटक आउने गरेका छन्। विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको प्रधानको भनाइ छ।

यस वर्ष पनि ऐतिहासिक इन्द्रजात्रा नजिकिँदै गर्दा आशाअनुरूप पर्यटक आउने विश्वास रहेको बताइएको छ। उक्त स्थान र इन्द्रजात्राको एकैपटक अवलोकन गर्न पाउने भएकाले उक्त क्षेत्रमा इन्द्रजात्राको समयमा अन्य समयभन्दा अत्यन्तै धेरै पर्यटक आउने गरेका छन्।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं महानगरपालिकाले छिमेकी स्थानीय तहका प्रतिनिधि र विदेशी पाहुनालाई पनि इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गर्दै आएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २० २०८२०८:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend