काठमाडौं- नियमित अन्तर्राष्ट्रिय उडानमा फर्किने घोषणा गरेको बीबी एयरवेज उडानभन्दा पनि लाइसेन्स जोगाउने खेलमा लागेको छ। नियमअनुसारको प्रक्रिया पूरा नगरी अदालतको ढोकामा पुगेको छ।
बीबी एयरवेजको निलम्बनमा परेको इजाजत २०७८ पुस १९ गते नवीकरण भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बीबी एयरवेजले खारेजको अवस्थामा पुगेको एयरलाइन्सको इजाजत नवीकरण गरेको थियो।
इजाजत नवीकरणसँगै बीबी एयरवेजले एओसी (एयर अपरेटर सर्टिफिकेट) का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता गराएको थियो। प्राधिकरणले एओसी दिनुअघि विभिन्न पाँचवटा प्रक्रिया पूरा गर्छ। सोहीअनुसार तीन चरणको प्रक्रिया पूरा गरेपछि प्राधिकरणले जहाज ल्याउन पाउने गरी बीबी एयरवेजलाई एनओसी दिएको हो।
प्राधिकरणले गएको फागुन २३ मा बीबीलाई एनओसी प्रदान गरेको थियो। त्यसभन्दा पहिले नै प्राधिकरणले सर्तसहित बीबी एयरवेजको व्यावसायिक योजनासमेत स्वीकृत गरेको थियो। प्राधिकरणले २०२४ को मार्च १२ मा बीबीलाई कम्तीमा पनि दुईवटा जहाज ल्याउनेगरी एक वर्षको सयम दिएर एनओसी प्रदान गरेको थियो।
सर्तअनुसारका काम गरेर उडानमा फर्किनेभन्दा पनि एयरलाइन्सको लाइसेन्स जोगाउँदै एओसी ब्युँताउने खेलमा रहेको बीबीले तोकेको समयमा कुनै जहाज ल्याउन सकेन। जहाज ल्याउनुपर्ने समय सकिनु एक दिनअघि बीबी एयरवेजलेई ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान अनुमति पाएको थियो। त्यसका लागि बीबी एयरवेजले राज्य शक्तिको दुरुपयोग गरेर प्राधिकरणमा दबाब दिएको थियो।
ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान त भयो तर उडानपछि थप प्रक्रिया अगाडि बढ्न सकेन। किनकि बीबी एयरवेजको इजाजत अवधि सकिएको थियो। प्राधिकरणले दबाबमा इजाजत अवधि सकिएपनि ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान गर्न भने अनुमति दिएको थियो। बीबीले ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान २०८१ को फागुनमा गरेको थियो। तर बीबी एयरवेजको लाइसेन्स अवधि २०८१ को पुसमै सकिएको थियो।
प्राधिकरणले ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान गर्न अनुमति दिँदा पनि त्यसपछिको प्रक्रिया अगाडि बढाउन मन्त्रालयबाट लाइसेन्स नवीकरण हुनुपर्ने सर्त राखेको थियो। प्राधिकरणले सर्तअनुसार नै कुनै प्रक्रिया अगाडि बढाएन। बीबी एयरवेजले लाइनसेन्स नवीकरणका लागि पुन: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दियो।
मन्त्रालयले लाइनसेन्स नवीकरण नहुने जानकारी गरायो। मन्त्रालयले २०७८ पुसमा लाइसेन्स नवीकरण गर्दै चार वर्षभित्र सबै प्रक्रिया पूरा गरेर उडानमा फर्कने सर्त राखेको थियो। कानूनअनुसारको सर्तमा नै बीबीको लाइसेन्स नवीकरण भएको थियो। तर लाइसेन्स पाएको चार वर्षसम्म एओसी नै पाउन नसकेपछि मन्त्रालयले एयरलाइन्स सञ्चालनको इजाजत नवीकरण नहुने निर्णय गरेको थियो। मन्त्रालयको निर्णय विरुद्ध बीबी एयरवेज २०८२ भदौ १० गते सर्वोच्च अदालत गएको थियो।
सर्वोच्चले भदौ ११ गते कारण देखाऊ, अल्पकालीन अन्तरिमसहित छलफलमा बोलाउने आदेश सुनाएको थियो। जसका कारण सबै प्रक्रिया यथास्थितिमा रोकिएको छ। त्यसपछि मुद्दाको सुनुवाइ भएको छैन।
मन्त्रालयले अहिले अदालतमा सबै कागजपत्र बुझाइसकेको छ। बीबी एयरवेजको लाइसेन्स नवीकरण हुने/नहुने विषय अब अदालतको फेसलापछि मात्रै हुने छ। बीबी एयरवेज यो सबै प्रक्रियाका पछाडि उडानमा फर्कनेभन्दा पनि एओसी ब्युँताउने खेलमा लागेको हो।
नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएको बीबी एयरवेजको व्यावसायिक योजना पनि पत्यारिलो छैन। सुरूमा दुईवटा एयरवसका न्यारोबडी जहाज ल्याउर उडान सुरू गर्ने योजना बनाएको बीबीले कुल लागत २ अर्ब ५३ करोड रुपैयाँ अनुमान गरेको छ। यसमा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी हुने अनुमान गरिएको थियो। स्वपुँजीसँगै ऋण कहाँबाट ल्याउने भन्ने कुराको विश्वसनीय आधार योजनामा प्रस्तुत गरिएको थिएन। ऋणको लागत अनुमान पनि औसत १० प्रतिशत गरिएकोमा यो पनि भरपर्दो छैन।
बीबी एयरवेजले वित्तीय व्यवस्थालाई ख्याल नगरी योजना प्रस्तुत गरिएको पाइएको छ। आम्दानी र खर्चको प्रक्षेपणमा तालमेल नभएको, जहाज लिज, संख्या र उडानपूर्वको तयारी पनि योजनामा देखिएको छैन। तर विभिन्न दबाबका कारण बीबी एयरवेजका मालिक गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्ट एनओसी लिन सफल भएका थिए। त्यसपछि एओसी ब्युँताउने भट्टको खेल पूरा भएन।
अब बीबी एयरवेजले मन्त्रालयबाट लाइसेन्स नवीकरण गरेर ल्याएपछि पनि एओसी लिनका लागि सुरुवातको चरणबाट प्रक्रिया थाल्नु पर्ने प्राधिकरणले जनाएको छ।
२०६८ सालमा स्थापना भएको बीबी एयरवेजले त्यसको एक वर्षपछि नै २०६९ भदौ २८ गते काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो। कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एक थान 'बोइङ ७५७-२००' सिरिजको जहाज भाडामा लिएर उडान गरेपनि कात्तिकमै उडान बन्द गरेको थियो। तीन महिना पनि उडानमा टिक्न नसकेको बीबी एयरवेजको एओसी निलम्बनमा परेको थियो।
जहाज ल्याउनुपर्ने समय सकिनु एक दिनअघि बीबी एयरवेजलाई ड्रुक एयरको जहाजमार्फत 'प्रुफिङ' उडान अनुमति
एनओसी पाएको ११ महिनासम्म पनि सम्पर्कमै आएनन् भवन भट्ट, बीबी एयरवेजले ल्याउन सकेन जहाज
बीबी एयरवेजले अनुमति पाएको ६ महिनासम्म जहाज ल्याउन सकेन, वित्तीय स्रोत जुटाउनसमेत असफल
२ अर्ब ५३ करोड लगानीको भरपर्दो आधारबिनै बीबी एयरवेजको एओसी माग्दै भवन भट्ट
बीबी एयरवेजको एओसी ब्युँताउने दौडधुपमा भवन भट्ट


