बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मस्को-काठमाडौं सिधा उडान गर्न पुटिनसँग ओलीको प्रस्ताव, सुरू होला त सम्झौताको वार्ता?

बुधबार, भदौ १८ २०८२
मस्को-काठमाडौं सिधा उडान गर्न पुटिनसँग ओलीको प्रस्ताव, सुरू होला त सम्झौताको वार्ता?

नेपालमा आउने रसियन पर्यटकहरू टर्की हुँदै आउने गर्छन् भने नेपालीहरू जाँदा पनि विभिन्न बिन्दुको प्रयोग गरेर जान्छन्।

काठमाडौं- रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मस्को र काठमाडौंबीचमा सिधा हवाई उडान पुन: सुरू गर्न प्रस्ताव गरेका छन्। चीनको आयोजनामा भएको सम्मेलनका क्रममा पुगेका दुई नेताबीचको भेटमा नेपालका प्रधानमन्त्रीले सो प्रस्ताव राखेका हुन्। 

सोभियत रुसको पतनसँगै खस्किएको रसियाको आर्थिक अवस्थासँगै रसियाको विश्व सञ्जाल कमजोर भएसँगै मस्को र काठमाडौंबीचको उडान दुई दशक पहिले नै बन्द भइसकेको थियो। 

कुनै समय मस्को र काठमाडौं जोड्ने रसियाको सरकारी एयरलाइन्स एलोफ्लटले काठमाडौं उडान गरेको थियो। तर कमजोर नाफाको कारण देखाउँदै बन्द भएको थियो। यो बन्द भएसँगै रसिया र नेपालबीचको उडान जोड्ने बिन्दु अन्य मुलुकका बिन्दुहरू बनेका छन्। 

नेपालमा आउने रसियन पर्यटकहरू टर्की हुँदै आउने गर्छन् भने नेपालीहरू जाँदा पनि विभिन्न बिन्दुको प्रयोग गरेर जान्छन्। 

Photo-Of-Aeroflot-Aircraft-13-1024x682.webp

यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले रसियासँगको सिधा उडानको प्रस्ताव गरेका हुन्। एरोफ्लटको उडन बन्दपछि नेपालबाट उडान सुरू गर्न प्रस्ताव भएपनि यसअघि रूसबाटै यस्तो आग्रह भएको थियो। 

कोभिड महामारीभन्दाअघि देखि नै रसियाबाटै हवाई सम्झौता नवीकरणका लागि प्रस्ताव आएको थियो। त्यसपछि कोभिडकै बीचमा पनि यो छलफल निरन्तर थियो। सोभियत रुस हुँदा नै सन् १९८९ मा सम्झौता भएपनि त्यसमा संशोधन आवश्यक रहेको भन्दै रसियाबाटै प्रस्ताव आएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नवीकरणको ड्राफ्ट पठाएको थियो। 

सन् २०१७ मा उपेन्द्र महतोले एरोफ्लोटको उडान गराउन कोशिस गरेका थिए। तर सम्झौतालगायतका विषयले गर्दा रोकिएको थियो।

प्रदीप ज्ञवाली पराराष्ट्रमन्त्री हुँदा औपचारिक भ्रमणमा रुस गएपछि यी सबै प्रक्रिया अघि बढेका थिए। 

सम्झौता नवीकरणका लागि ड्राफ्ट आदान प्रदान तथा छलफलकै बीचमा उडानका बारेमा पनि रसियाबाटै चासो आएको थियो। सम्झौता नवीकरण भएपछि उडानको तयारी अघि बढाउनेगरी छलफल हुँदै गर्दा रसिया युक्रनेसँगको युद्धमा होमिएपछि यो प्रक्रिया ठप्प भएको छ। 

यस्तो अवस्थामा नेपालबाट उडानको प्रस्ताव गएपनि यसले कम्तिमा सम्झौताको प्रक्रिया अघि बढाउनसक्ने उडानका बारेमा तत्काल निर्णय हुने सम्भावना नभएको मन्त्रालयकै अधिकारीहरू बताउँछन्।

मस्को-काठमाडौं सिधा उडान नाफामूलक हुनेमा एयरलाइन्सहरू विश्वस्त छैनन्। पर्यटनको फ्लो पनि नभएको र दोहोरो आवतजावत पनि नभएकाले सम्भावना धेरै नरहेको उनीहरूको भनाइ छ। 

यद्यपि साप्ताहिक उडानमात्र भएपनि हुँदा विस्तारै कनेक्टिभीटी बढ्नसक्ने उनीहरूको भनाइ छ। ओलीले यस्तो प्रस्ताव राखेपनि तत्काल रसियासँगको उडान सम्भव देखिँदैन। अमेरिकाले रसियालाई आर्थिक प्रतिबन्ध लगाएका कारण अमेरिकी डलर पठाउन सकिने अवस्था छैन। 


प्रकाशित : बुधबार, भदौ १८ २०८२०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend