काठमाडौं- एआईमा चीनले गरिरहेको प्रगति प्रविधिको दुनियाँमा बेग्लै देखिन्छ। अमेरिकाले त चीनलाई पछि पार्न सकिने आशमा एआईका लागि अर्बौँ डलर खर्च गरिरहेको छ। विश्व व्यवस्थालाई बदल्ने यो दौडमा भविष्य यकिन नभए पनि वर्तमान भने चीनकै पक्षमा देखिएको छ।
सन् २०२२ मा ओपनएआईको च्याट जीपीटी आएयता सिलिकन भ्यालीका ठूला प्रविधि कम्पनीहरूले मानव सोचलाई पार गर्नेगरी एआईको विकासमा पैसा खन्याइरहेका छन्। सैन्य क्षेत्रका साथै स्वास्थ्य, जलवायुदेखि मानिसको आवश्यकता पूरा गर्ने अन्य क्षेत्रमा सहजता ल्याउनेगरी अमेरिकाले काम गरिरहेको दि वाल स्ट्रिट जर्नलले लेखेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) भन्दा देशको प्रविधि उद्योगलाई व्यवहारिक र प्रयोगमुखी बनाउन जोड दिएका छन्। चीनले सस्तो तर दक्ष उपकरण निर्माणमा एआईको प्रयोगलाई जोड दिइरहेको छ। जसले छिट्टै बजारमा प्रभाव पार्न सकोस्।
अहिले चीनले लिएको बाटो गलत साबित भएमा यो शताब्दीको निर्णायक प्रविधिमा अमेरिकाले नै उछिन्ने छ। यदि त्यो सफल भएमा चीनले अहिलेको एआईबाट अधिकतम फाइदा उठाउँदै संसारभर यसको व्यवहारिक प्रयोग फैलाउने मौका पाउनेछ।
चीनमा च्याट जीपीटी जस्तै घरेलु एआई मोडेलहरू सरकारी स्वीकृतिसहित पहिलेदेखि नै प्रयोग भइरहेका छन्। परीक्षाको उत्तरपुस्तिका जाँच्न, मौसम पूर्वानुमान सुधार गर्न, प्रहरी परिचालन गर्न र किसानलाई बाली चक्रबारे सल्लाह दिनसमेत त्यस्ता एआईको प्रयोग चीनले गरिरहेको छ।
चीनको सिङ्घुआ विश्वविद्यालयले एआईआधारित अस्पतालसमेत सञ्चालन गर्दैछ। जहाँ मानव चिकित्सकलाई नवीनतम रोगसम्बन्धी तथ्यांक भएको भर्चुअल चिकित्सकले सहयोग गर्नेछ। साथै चीनमा उन्नत रोबोटहरूले अटोमोबाइल उत्पादनका 'डार्क फ्याक्ट्रि' चलाइरहेका छन्।
चीनले प्रभावशाली एआई प्रयोगलाई भविष्यको सिद्धान्तको रूपमा होइन, अहिले नै लाभ उठाउन सकिने अवसरको रूपमा हेरिरहेको छ।
अमेरिकी प्रविधि कम्पनीहरूले पनि अहिलेको एआईबाट व्यवहारिक प्रयोगहरू विकास गरिरहेका छन्। गुगलले आफ्नो नयाँ पिक्सेल स्मार्टफोनमा वास्तविक समयमा भाषा अनुवाद गर्ने सुविधा थपेको छ। कन्सल्टिङ कम्पनीहरूले एआई एजेन्ट प्रयोग गरेर पावरप्वाइन्ट प्रिजेन्टेसन तयार गरिरहेका छन्। अरू केही कम्पनीले औषधिको अनुसन्धानदेखि खाना डेलिभरी सुधारका लागिसम्म एआई प्रयोग गरिरहेका छन्।
अमेरिकाले प्रायः उद्योगलाई आफ्नो हिसाबले चल्न दिन्छ, जब कि चीनले भने राज्य शक्तिलाई नै पूर्णरूपमा त्यसमा लगाइरहेको छ। यसैवर्ष जनवरीमा चिनियाँ केन्द्रीय सरकारले ८.४ अर्ब डलरको एआई लगानी कोष घोषणा गर्यो। जसले स्टार्टपहरूलाई सहयोग गर्नेछ। स्थानीय सरकार र बैंकहरूले पनि त्यसमा आफ्नै योजना ल्याएका छन्। विभिन्न सहरहरूले 'एआई प्लस' अभियान अन्तर्गत विकास योजना सार्वजनिक गरेका छन्।
एआईलाई विज्ञान अनुसन्धान, औद्योगिक विकास र अन्य क्षेत्रमा गहिरोरूपमा एकीकृत गर्ने र सन् २०३० सम्ममा चीनको आर्थिक विकासलाई 'पूर्णरूपमा सशक्त बनाउने' लक्ष्य राख्दै गतसाता चीनको मन्त्रिपरिषद्ले ठूलो महत्वाकांक्षी घोषणाहरूसमेत गरेको छ।
चीनले एआईमा खुला मोडेलहरूलाई अझै बढी अँगालिरहेको छ। जसलाई सजिलै डाउनलोड र परिमार्जन गर्न सकिन्छ। यसले कम्पनीहरूलाई कम खर्चमा व्यवसाय राम्रो बनाउन सजिलो बनाइरहेको छ। यसरी बनेका उपकरणहरू चीनबाहिर पनि फैलिँदै छन्। जसले अमेरिकालाई पनि चीनको जस्तै बाटो पछ्याउन बाध्य बनाएको छ।
अमेरिकाका ठूला प्रविधि कम्पनीहरूको लक्ष्य भने अझ फरक छ। मानवीय सोचलाई पार गर्ने क्षमता भएको एआईले विज्ञानमा क्रान्ति ल्याउनेछ, नयाँ अनुसन्धान क्षेत्र खोल्नेछ र अमेरिकी सेनालाई रूपान्तरण गर्नेछ भन्ने विश्वास अमेरिकीहरूमा देखिन्छ। कतिपयले सन् २०२७ भित्रै त्यस्तो एआई आउन सक्ने अनुमान गरेका छन्। मेटा, गुगल र ओपनएआई जस्ता कम्पनीहरूले यसका लागि विशाल लगानी गर्दैछन्। अनुसन्धानसँगै डाटा सेन्टर र ऊर्जा भण्डारणमा उनीहरूको लगानी केन्द्रित छ।
बेइजिङदेखि दुई घण्टा दक्षिणमा पर्ने चीनको नयाँ सहर सियोङआनमा चिनिया सरकारको एआईप्रतिको उत्साह स्पष्ट देखिन्छ। गत फेब्रुअरीमा त्यहाँ कृषि एआई मोडेल सुरु गरियो।
चिनियाँ स्टार्टप डिपसिकको प्रविधिबाट बनेको त्यो एआईले किसानलाई बाली छनोट, रोपाइँ र कीट नियन्त्रणमा सहयोग गर्छ। त्यही मोडेलले मौसम पूर्वानुमानलाई पनि सुधार गरिरहेको छ। प्रहरीलाई केस रिपोर्ट विश्लेषण गरेर तुरुन्त प्रतिक्रिया कसरी दिने भन्ने सल्लाहसमेत दिन्छ। त्यहाँ सरकारी हेल्पलाइनले पनि डिपसिक प्रयोग गरेर सयौँ हजार फोन कल सजिलै वर्गीकरण गरी मार्गनिर्देशन गर्छ।
अधिकांश चिनियाँ सरकारी लगानी डेटा सेन्टर बनाउन खर्च भइरहेको छ। तर यी सुविधा अमेरिकी मोडेलजस्तो विशाल बनाउनतिर भन्दा पनि साना र व्यवस्थापनयोग्य बनाउनतिर ध्यान दिइएका छन्।
अमेरिकाले उच्चस्तरीय सेमिकन्डक्टरमा लगाएका व्यापार प्रतिबन्धहरूले चीनलाई प्रतिस्पर्धा गर्न केही गाह्रो भने बनाएको छ। त्यसैले चीनले फरक बाटो रोज्नु एक हिसाबले बाध्यतापूर्ण अवसरका रुपमा देखिन्छ। केही समयअघि इन्टरनेटमा जस्तै अहिले एआईमा पनि को विजेता भन्ने थाहा पाउन दशकौँ लाग्न पनि सक्छ।
