बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पहिलो लटको २९ सय वटा सुजुकी ईभिटारा गुजरातबाट युरोपतर्फ हिँड्यो, नेपाल कहिले आउँछ?

बुधबार, भदौ १८ २०८२
पहिलो लटको २९ सय वटा सुजुकी ईभिटारा गुजरातबाट युरोपतर्फ हिँड्यो, नेपाल कहिले आउँछ?

सुजुकीले युरोप पठाएको पहिलो लटको ईभिटारा बेलायत, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्वीजरल्यान्ड, नेदरल्यान्ड, स्वीडेन, हंगेरी, आइसल्यान्ड, अस्ट्रिया र बेल्जियमा पुग्ने छन्।

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी सुजुकीको भारतमा निर्मित पहिलो विद्युतीय कार ईभिटारा युरोपतर्फ हिँडेको छ। सुजुकीको गुजरातमा रहेको प्लान्टमा उत्पादित २९ सय वटा ईभिटारा १२ वटा युरोपेली देशमा बिक्रीका लागि निर्यात भएको हो। 

अगस्ट २६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको हन्सलपुरमा रहेको सुजुकीको प्यान्टबाट औपचारिक रुपमा ईभिटारा उत्पादनको फ्ल्यागअफ गरेका थिए। सुजुकीले युरोप पठाएको पहिलो लटको ईभिटारा बेलायत, जर्मनी, नर्वे, फ्रान्स, डेनमार्क, स्वीजरल्यान्ड, नेदरल्यान्ड, स्वीडेन, हंगेरी, आइसल्यान्ड, अस्ट्रिया र बेल्जियमा पुग्ने छन्। 

भारतमा उत्पादन भएको सुजुकी ईभिटारा भारत, नेपालसहित १ सयभन्दा बढी देशमा बिक्री गर्ने योजना सुजुकीले बनाएको छ। सुजुकीको गुजरातमा रहेको प्लान्टमा उत्पादित ईभिटारा भारतबाट निर्यात हुन लागेको मारुती सुजुकीको पहिलो विद्युतीय कार हो। 

जापानी कार ब्रान्ड सुजुकीको पहिलो विद्युतीय कार ईभिटारा नेपाली बजारमा पनि आएको हो। केही समयपछि बिक्री सुरु हुने ईभिटारा पहिलोपटक सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले भदौ ३ गतेदेखि भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा औपचारिकरुपमा शोकेस गरेको थियो। 

सुजुकी ईभिटारा एसयूभी लिएर नेपाली ईभी बजारमा प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेको छ। भारतीय बजार अक्टोबर वा नोभेम्बरमा बिक्री सुरु भएसँगै ईभिटारा बिक्रीका लागि नेपाली बजारमा पनि आउनेछ। 

गएको जनवरीमा भएको ‘भारत मोबिलिटी एक्स्पो २०२५’ मा पहिलो पटक सुजुकीको ईभी सार्वजनिक भएको थियो। ईभिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आएको छ। सुजुकी ईभिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।

सुजुकीले ईभिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०७, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ईभिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा उपलब्ध छ।

ईभिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्। 

ईभिटाराको औपचारिक उत्पादन सुरु गरेको सुजुकीले भारतको गुजरातमा लिथियम आयन सेल र इलृेक्ट्रोड उत्पादन सुरु गरेको घोषणासमेत गरेको छ। यो ब्याट्री सेल उत्पादनले स्ट्रोङ हाइब्रिड कार उत्पादनमा सहयोग पुग्नेछ। गुजरात प्लान्टबाट उत्पादित सेलहरु सुरुमा सुजुकीको ग्रान्ड भिटारा हाइब्रिडमा प्रयोग हुनेछ। 

सो प्लान्टबाट वार्षिक १ करोड ८० लाख वटा सेल उत्पादन क्षमता रहेको र यो प्लान्टमा थप १ करोड २० लाख सेल उत्पादन गर्नेगरी विस्तार क्षमता रहेको छ। सुजुकी समूहले भारतमा १ खर्ब भारुभन्दा बढी लगानी गरिसकेको छ। समग्रमा उक्त लगानीबाट भारतमा ११ लाख जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी सृजना गरेको छ। 


प्रकाशित : बुधबार, भदौ १८ २०८२११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend