काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको लगानीमा नुवाकोटमा निर्माण भएको माथिल्लो तादी खोला जलविद्युत आयोजना व्यवसायिक उत्पादनमा प्रवेश गरेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले निर्माण सम्पन्न गरेको ११ मेगावाट क्षमताको यस आयोजना २०८२ साउन १२ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली आपूर्ति गर्दै आएको हो। कम्पनीका अनुसार असार १८ गते निर्माण सम्पन्न गरी १५ दिनको परीक्षण सञ्चालन सफलतापूर्वक पूरा भएपछि परियोजनाले व्यावसायिक उत्पादन थालेको हो।
अपि पावरको बहुमत सेयर लगानी रहेको सूर्यकुण्ड हाइड्रो उर्जाको विकास र सञ्चालन गर्ने उद्देश्यले स्थापित भएको कम्पनी हो। आयोजनाले ३ चैत्र २०६८ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको थियो। ऊर्जा मन्त्रालयबाट प्रारम्भिक वातावरणीय अध्ययन २०८१ असोज ८ गते स्वीकृत भएको र २०७२ असोज २२ गते उत्पादन इजाजतपत्र प्राप्त गरेको थियो।
भौगोलिक रूपमा बागमती प्रदेश, नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा रहेको यस आयोजनाको इन्टेक १ हजार ५०० मिटर उचाइमा र पावरहाउस १ हजार २ सय ८२ मिटर उचाइमा अवस्थित छ।
दुईवटा पेल्टन टर्बाइन (प्रत्येक ५.५ मेगावाट) मार्फत कुल ११ मेगावाट उत्पादन हुने गरी आयोजना डिजाइन गरिएको हो। बाढी जोखिमलाई समेत ध्यानमा राख्दै डाइभर्सन बाँध र सहायक संरचना १०० वर्षे पुनरावृत्तिको हिसाबले डिजाइन गरिएको छ, जसको अधिकतम परिमाण २४७ घनमिटर प्रति सेकेन्ड अनुमान गरिएको छ।
उत्पादित बिजुली ६ किलोमिटर लामो ३३ केभी ट्रान्समिशन लाइनमार्फत नुवाकोटको समुन्द्रटार सबस्टेसनमा जोडिएको छ। आयोजना वार्षिक ६१.३१९ गीगावाटघण्टा विद्युत उत्पादन गर्ने अनुमान छ, जसमा वर्षायाममा ५०.८९३ गीगावाटघण्टा र सुख्खा मौसमी अवधिमा १०.४२५ गीगावाटघण्टा हुने प्रक्षेपण गरिएको छ।
यसैबीच सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको प्राथमिक सेयर निष्कासन प्रक्रिया अघि बढिसकेको छ र नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको कम्पनीले जनाएको छ।
आयोजनाको सफल व्यवसायिक उत्पादनसँगै बागमती प्रदेशसहित राष्ट्रिय विद्युत आपूर्तिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
