काठमाडौं- विश्व अटोमोबाइल उद्योग ट्रान्सफर्मेसनको संघारमा उभिएको छ। आईसी(इन्टरनल कम्बस्चन) इन्जिनको युगबाट ब्याट्री इलेक्ट्रिक वा हाइब्रिड वा अन्य कुनै विकल्पका लागि तयार भइसकेको विश्व अटोमोबाइल उद्योग वर्तमान समयमा ब्याट्रीमा आधारित विद्युतीय सवारीको लयमा लम्किँदै छ।
जीवास्म इन्धनबाट चल्ने सवारीले एक छत्र राज गरेको अटोमोबाइल उद्योग अहिले विद्युतीकरणमा तीव्र गतिमा अघि बढेको छ। यसको प्रष्ट प्रमाणका रुपमा परम्परागत ठूलो अटोमोबाइल निर्माता कम्पनीले विद्युतीय करणमा गरेको लगानी, स्टार्टअपले देखाएको निर्विकल्प ईभी र विश्वभरका अटोमोबाइल उपभोक्ताले स्वीकारेको ईभीको प्रयोग हो।
पछिल्लो ७ वर्षमा विश्वभर घट्दो आईसी इन्जिन सवारीको बिक्री र बढ्दो विद्युतीय (बीईभी, हाइब्रिड, हाइड्रोजनलगायत) प्रयोगबारे भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। क्यापिटालिस्टले विश्वभर आईसी इन्जिन सवारी, हाइब्रिड र विद्युतीय सवारीको बजार हिस्सा कसरी परिवर्तन भइरहेको छ भन्ने उल्लेख गरेको छ।
जेएटीओले सार्वजनिक गरेको तथ्यांकले विश्वभरका उपभोक्ताले कति छिटो विद्युतीय र हाइब्रिड सवारी प्रयोगलाई रुचाइरहेका छन् भन्ने देखाएको छ। २०१९ मा विद्युतीय सवारीको विश्वव्यापी बिक्री १.९ प्रतिशत रहेकोमा २०२५ को पहिलो त्रैमासमा आइपुग्दा यो बढेर १५.७ प्रतिशत पुगिसकेको छ।
२०२५ को पहिलो त्रैमासमा विश्वभर बिक्री भएका कुल सवारीमा विद्युतीकृत सवारी(ब्याट्री इलेक्ट्रिक, प्लगइन हाइब्रिड र हाइब्रिडसमेत)को हिस्सा ४३ प्रतिशत पुगेको छ। २०१९ मा यस्ता सवारीको बिक्री कुल बिक्रीको ९ प्रतिशतमात्र रहेको थियो।
आईसी इन्जिन कोल्याप्स हुँदैछ?
२०१९ मा विश्वभर बिक्री भएको कुल नयाँ सवारीको तथ्यांक हेर्ने हो भने त्यतिबेला परम्परागत आईसी इन्जिन सवारीको हिस्सा ९० प्रतिशतभन्दा धेरै थियो। २०२५ सम्म आइपुग्दा नयाँ बिक्री हुने सवारीमा त्यस्ता आईसी इन्जिन सवारीको हिस्सा ५७ प्रतिशतमा सीमित भइसकेको छ। यसरी उल्लेख्य रुपमा आईसी इन्जिन सवारीको बिक्री हिस्सा घट्नुका पछाडि कसिलो प्रदूषण मापदण्ड, ग्यासोलिन इन्जिन विस्थापनका लागि कम्पनीहरुको प्रतिवद्धता र उपभोक्ताको स्वच्छ सवारी खरिद गर्ने वैकल्पिक सोच नै मुख्य कारक रहेका छन्।
२०१९ मा आईसी इन्जिन सवारीको विश्वव्यापी सवारी बिक्रीमा ९१.२ प्रतिशत, हाइब्रिडमा ५.९ प्रतिशत, ब्याट्रीमा आधारित विद्युतीयको हिस्सा १.९ प्रतिशत, प्लगइन हाइब्रिडको हिस्सा ०.७ प्रतिशत र अन्य सवारीको हिस्सा ०.३ प्रतिशत रहेको थियो।
२०२५ को पहिलो त्रैमाससम्मको तथ्यांकअनुसार विश्वभर बिक्री भएका कुल नयाँ सवारीमा आईसी इन्जिनको हिस्सा ५६.७ प्रतिशत, हाइब्रिडको हिस्सा २१.१ प्रतिशत, ब्याट्रीमा आधारित विद्युतीयको हिस्सा १५.७ प्रतिशत, प्लगइन हाइब्रिडको हिस्सा ६.१ प्रतिशत र अन्यको हिस्सा ०.४ प्रतिशत पुगेको छ।
उल्लेखित तथ्यांकले आईसी इन्जिन निर्माताहरुलाई विद्युतीकरणतर्फ लाग्न थप दबाब दिएको छ। स्मार्टअप कम्पनीहरुको बाहुल्यता अहिलेको ईभी बजारमा रहेको छ। यसले पनि परम्परागत अटो जायन्टहरुलाई चुनौती थपिएको छ।
चीन अग्र भूमिकामा, हाइब्रिड ट्रान्जिसन प्रविधि
विश्व अटोमोबाइल उद्योगमा चीन अहिले सबैभन्दा धेरै सवारी बिक्री हुने बजारका रुपमा रहेको छ। प्रदूषण न्यूनीकरणको दबाब झेलिरहेको र आईसी इन्जिनमा रहेको पश्चिमा र जापानी दबदबाबाट फुत्किने विकल्पका रुपमा चीनले ब्याट्रीमा आधारित विद्युतीय सवारीको विकासमा ठूलो लगानी गरेको प्रष्ट हुन्छ।
विद्युतीय सवारीको मेरुदण्डको रुपमा रहेको ब्याट्री उत्पादनमा चीन विश्वकै निर्विकल्प बजारका रुपमा उदाएको छ। चीनले जति परिमाण र प्रतिस्पर्धी मूल्यमा ब्याट्री उत्पादन गरिरहेको छ तत्काल विश्वका कुनै पनि देशले त्यो गर्न सक्ने अवस्था छैन।
२०२५ को पहिलो त्रैमासको तथ्यांक हेर्दा चीन विश्वको विकल्पबिहीन ईभी एडप्टेड देशका रुपमा उदाएको छ। यो अवधिमा विश्वभर दर्ता भएका कुल बीईभी मध्ये ५७ प्रतिशत चीनमै दर्ता भएका छन्। यो हुनुमा सरकारले दिएको सहुलियत÷अनुदान र ब्याट्री उत्पादनमा पाएको सफलताको महत्वपूर्ण भूमिका रहेको छ।
२०२५ को पहिलो त्रैमासमा विश्वभर बिक्री भएको ईभीमध्ये युरोपमा २२ प्रतिशत र अमेरिकामा १२ प्रतिशत रहेको छ। बाँकी विश्वका अन्यदेशमा बिक्री भएको थियो।
आईसी इन्जिनबाट विद्युतीकरण प्रक्रियामा हाइब्रिड प्रविधिले महत्वपूर्ण भूमिका खेलेपनि ब्याट्रीमा आधारित विद्युतीय सवारीको चर्चा र योगदानलाई हाइलाइट गरिँदै आएको छ। २०१९ मा विश्वभर बिक्री भएका कुल सवारीमा हाइब्रिडको हिस्सा ६ प्रतिशत रहेकोमा २०२५ मा आइपुग्दा यो बढेर २१ प्रतिशत पुगिसकेको छ।
नेपाल पनि विद्युतीय सवारीको स्वीकार्यतामा विश्वको अग्र स्थानमा रहेको छ। तर नम्बरका आधारमा धेरै बिक्री नहुने भएकाले नेपालको खासै चर्चा हुने गरेको पाइँदैन। एकाध पटक र आक्कलझुक्कल विश्वमञ्चमा ईभी एडप्सनमा नेपाल रहेको आउने गरेको छ। नेपालमा बिक्री हुने कुल नयाँ सवारीमा ईभीको हिस्सा करिब ७५ प्रतिशत रहेको छ।
