बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

भदौ १४ देखि ५ दिने चीन भ्रमणमा जाँदै प्रधानमन्त्री, संसद्‌मा गराए जानकारी

शुक्रबार, भदौ १३ २०८२
भदौ १४ देखि ५ दिने चीन भ्रमणमा जाँदै प्रधानमन्त्री, संसद्‌मा गराए जानकारी

भदौ १६ मा थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, त्यस सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि ५ दिने चीन भ्रमणमा जाने भएका छन्। चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीन भ्रमणमा जाने तय भएको उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा जानकारी गराएका हुन्।

चीनको थियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेशन अर्गनाइजेसन) को शिखर सम्मेलनमा भाग लिनका लागि प्रम ओली चीन जान लागेका हुन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ।

भदौ १८ गतेसम्म हुने भ्रमणका क्रममा चीनका राष्ट्रपतिसँग दुईपक्षीय भेटघाटको कार्यक्रम रहेको छ। बेइजिङमा चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट हुने कार्यक्रम रहेको छ। यस्तै, चीनका राष्ट्रपति र उपराष्ट्रपतिले दिने छुट्टाछुट्टै रात्रिभोजमा समेत सहभागी हुनेछन्।

भदौ १६ मा थियानजिनमा हुने एससिओ प्लस शिखर सम्मेलनमा हाम्रो सहभागिता हुनेछ, त्यस सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। एससिओ शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। ती भेटघाटमा नेपाल र ती मुलुकबीचका द्विपक्षीय एवं अन्य प्राथमिकताका विषयमा छलफल हुनेछ।

थियानजिनबाट सोही दिन प्रम ओली बेइजिङ जाने कार्यक्रम छ। हालसम्म रूसी महासंघका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भइसकेको छ।

यस्तै, भदौ १८ गते चीनद्वारा बेइजिङमा आयोजना हुने फासिवाद विरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण विरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन्। यस समारोहमा ५० भन्दा बढी देशले यी कार्यक्रममा सहभागिता जनाउने छन्।

यस भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुनुका साथ एससिओ शिखर सम्मेलनमा मेरो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न समसामयिक विषयमा नेपालको अवधारणा एवं प्राथमिकताको प्रस्तुतिबाट मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि हुने प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीको चीन भ्रमण दलमा पत्नी राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन्।


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२१४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend