बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गर्मी छल्न कोप्रे झरना

शुक्रबार, भदौ १३ २०८२
गर्मी छल्न कोप्रे झरना

घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ।

म्याग्दी- बेनी नगरपालिका-२ मा रहेको कोप्रे झरना गर्मी छल्ने थलोका रूपमा विकास भएको छ। गर्मीयाममा शीतलताको खोजी गर्दै बेनीका बासिन्दा कोप्रे झरनामा पुग्न थालेका हुन्। केही वर्षअघिसम्म गुमनाम कोप्रे झरना पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।

बेनी बजारबाट दुई किलोमिटर पश्चिममा म्याग्दी नदी किनार र अग्लो पहाडको फेदीमा कोप्रे झरना अवस्थित छ। सार्वजनिक बिदाका दिन बेनीका युवायुवती, किशोरकिशोरीदेखि प्रौढहरू कोप्रे झरनामा पुगेर रमाउने गर्छन्।

शान्त र एकान्त वातावरणमा छङछङ गर्दै झर्ने झरनाको फेदीमा बसेर रमाइलो महसुस गर्न पाइने कोप्रे झरना घुम्न गएकी बेनीकी प्रिती छन्त्यालले अनुभव सुनाइन्। 'व्यस्त दैनिकी र सहरको कोलाहलबाट टाढा भएर प्रकृतिसँग रमाउँदा आनन्द महसुस भयो', उनले भनिन्, 'बेनीको उखरमाउलो गर्मी छल्न कोप्रे झरना उपयुक्त सहारा बनेको छ।'

हिउँदमा सानो हुने कोप्रे झरना बर्खामा ठूलो हुने गर्छ। भिर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ। करिब एकसय ५० मिटर अग्लो झरनाको फेदीबाट नजिकै अवलोकन गर्न सकिन्छ।

घाम लागेको समयमा इन्द्रेणी पार्ने यस झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ। पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द हुने बेनीका आनन्द पुनले बताए। कोप्रे झरनामा भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा टिकटक, रिल्स र स्टोरी बनाउने गर्छन्।

बर्खायाममा कोप्रे झरनामा दिनभरजसो चहलपहल हुने बेनी नगरपालिका-२ का बासिन्दा नारायणबहादुर कार्कीले बताए। कार्कीले झरना परिसरमा व्यक्तिगत लगानीमा चौतारी बनाएर बर र पिललको रुख रोपेका छन्। बेनी नगरपालिकाले दुई लाख ५० हजार रूपैयाँ खर्चेर आश्रयस्थल, पार्किङस्थल र बस्नका लागि फलामको बेञ्च राखेको छ। थप पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा दुई लाख रूपैयाँ विनियोजन गरेको नगरप्रमुख सुरत केसीले बताए।

गण्डकी प्रदेश सरकारमार्फत बेनीको हाडेभिरबाट बगरफाँट कोप्रे झरनाको नजिकै दूधेखोला हुँदै भकिम्ली जोड्ने सडक स्तरोन्नतिको क्रममा छ। सडक सहज र थप पूर्वाधारका साथै प्रचारप्रसार गरी कोप्रे झरनालाई बर्खायामको गन्तव्य बनाउन जोड दिएको नगरप्रमुख केसीले बताए। रासस


प्रकाशित : शुक्रबार, भदौ १३ २०८२११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend