काठमाडौं- आफ्नो व्यक्तिगत गोपनियताका विभिन्न विषयहरूलाई बेवास्ता गर्ने हो भने पछिल्लो समय आएको ‘एआई फोन’ ले तपाइँको समय बचत गर्न सक्छ।
नयाँ पिक्सेल टेन प्रोलाई गुगलले एआई फोनको रुपमा अहिले खुब प्रचार गरिरहेको छ। यस्तो नयाँ प्रकारको स्मार्टफोन जसले प्रयोगकर्ताको विभिन्न सम्पर्क, स्थान, म्यासेज र इमेलजस्ता व्यक्तिगत डाटा निरन्तर प्रयोग गरेर उनीहरूको आवश्यकताहरू अनुमान गर्छ। यसले प्रयोगकर्ताको एपहरूलाई नै प्रयोग गरेर उनीहरूको समय बचाइदिन्छ।
गुगलका पिक्सेल फोनहरू विश्वव्यापी मोबाइल बजारमा शीर्ष बिक्रेतामा पर्न सकेका छैनन् तर यी फोनहरूले भविष्यमा आफ्ना उपकरणहरूलाई व्यक्तिगत डाटा दिएर त्यसको सट्टामा पाउन सक्ने सुविधाहरू चिनाएको छ। यसले मोबाइल उद्योगमै नयाँ मानक कायम गरेको छ।
संसारभर तीव्र गतिमा विकास भइरहेको ‘एआई’ले सबैभन्दा बढी प्रभाव पारेको मोबाइल फोनको दुनियाँ नै हो। प्रविधि क्रान्तिको यो नयाँ युगमा एआई समर्थित स्मार्टफोनमा विश्वले नयाँ-नयाँ फड्को मारिरहेको छ।
एक दशकभन्दा अघि स्मार्टफोनमा टचस्क्रिन क्रान्ति आयो। त्यसपछिको फोनमा हुने क्यामेराले ठूलो खेल बदल्यो। अहिलेको दौड एआई केन्द्रित छ। जसमा पछिल्लो समय गुगलले बाजी मारेको छ।
गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० ले देखाएको एआई शक्ति विशेष प्रभावशाली रहेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। जसमा रहेको क्यामेरा कोचले फोटो खिच्दा निकै प्रभावकारी सुविधाहरू दिइरहेको छ। विभिन्न १२ भाषा प्रयोगकर्ताकै आवाजमा तुरुन्त अनुवाद हुने सुविधा दिएको छ।
पिक्सेल १० मा ई-मेल, क्यालेन्डर, म्यासेजबाट आवश्यक जानकारी तुरुन्तै निकाल्न सकिने म्याजिक क्यू सुविधा दिएको छ। निद्रा, स्वास्थ्य, व्यायामका आधारमा व्यक्तिगत योजना बनाइदिने फिटनेस कोचको सुविधा पनि छ। जसले फोनलाई केवल उपकरण मात्र नभएर सहयोगी साथीमा रूपान्तरण गरिदिएको छ।
उदाहरणका लागि पिक्सेल फोनमा रहेको जेमिनी असिस्टेन्ट केवल साधारण एआई असिस्टेन्टमात्र होइन यो प्रयोगकर्ताको व्यक्तिगत सहयोगी जस्तै हो। प्रश्नको उत्तर दिनु, नजिकैको रेस्टुरेन्ट सुझाव दिनु वा सामान्य नोट बनाउनु त छँदैछ तर अब यसले सिर्जनात्मक काममा समेत मद्दत गर्नेछ।
प्रोजेक्ट वा रिपोर्ट तयार गर्दा आइडिया दिने कामसमेत यसले गर्नेछ। यात्राका लागि विभिन्न समय तालिका मिलाउन यसले सहयोग गर्नेछ। सिर्जनात्मक लेखमा सल्लाह दिनेछ।
टेक विश्लेषकहरूलाई उद्धृत गर्दै दि न्यू योर्क टाइम्सले लेखेको छ, 'गुगलको जेमिनी असिस्टेन्टले प्रयोगकर्तालाई केवल आदेश दिने प्रणालीभन्दा माथि उठाएर सहयोगी साझेदारको अनुभव दिन थालेको छ।'
गुगल फोनको अर्को उल्लेखनीय विशेषता म्याजिक क्यु हो। यो फिचरले प्रयोगकर्ताको आवश्यकतालाई अनुमान गर्छ र समयमै जानकारी प्रस्तुत गर्छ। उदाहरणका लागि तपाईंले फ्लाइट बुक गर्नुभएको छ भने बोर्डिङ समय र गेट नम्बर स्वतः स्क्रिनमै देखाइन्छ। साथै कुनै मिटिङ छ भने त्यसको मिटिङ लोकेसन खोज्न नपरी सिधै उपलब्ध हुन्छ।
फोटोग्राफीमा एआईको चमत्कार यसको अर्को महत्त्वपूर्ण विशेषता हो। गुगल पिक्सेल फोन सधैँ फोटोग्राफीमा अगाडि मानिन्छ। एआई एकीकृत भएपछि यो अझै परिष्कृत बनेको छ। म्याजिक इरेजरमार्फत यसमा अनावश्यक वस्तु वा मानिस सजिलै हटाउन सकिन्छ।समूहमा लिइएको फोटोमा सबैको राम्रो एक्सप्रेसन मिलाएर एकमात्र राम्रो फोटो यसले तयार गर्छ। प्रयोगकर्तालाई तस्बिर खिच्दा सजिलो टिप्स दिने एआई प्रशिक्षकसमेत यसमा छ।
यसमा भाषा नबुझ्ने समस्या हटाउनेगरी रियल-टाइम अनुवादको सुविधा पनि छ। अब फोन कलमै बोलेको कुरालाई तुरुन्तै अर्को भाषामा अनुवाद गरेर एआई आवाजमार्फत सुनाइन्छ। यो अन्तर्राष्ट्रिय यात्रु, विद्यार्थी वा व्यवसायीका लागि निकै उपयोगी साबित हुने बताइएको छ।
सर्कल टु सर्चमार्फत इन्टरनेट खोजी गर्ने नयाँ बाटो यसले दिएको छ। अब स्क्रिनमै देखिएको कुनै पनि कुरा तस्बिर, टेक्स्ट वा चिन्हमा घेरा हालेर वा ट्याप गरेर तुरुन्तै गुगल सर्च गर्न सकिन्छ। सर्कल टु सर्चले प्रयोगकर्तालाई नयाँ तरिकाले इन्टरनेटसँग अन्तरक्रिया गर्ने सुविधा दिएको छ।
यी सबै सुविधा सम्भव हुनुको कारण गुगलको आफ्नै चिप हो। यसले ठूला एआई मोडललाई प्रत्यक्ष फोनमै चलाउन सक्षम बनाएको छ। गुगलको एआई फोनले मोबाइल बजारमा ठूलो तरंग ल्याएको छ। टेक समिक्षकहरूले यसलाई स्मार्टफोनमा नयाँ युग सुरु भएको भनेर अर्थ्याइरहेका छन्।
