काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बनेको सुजुकीको पहिलो विद्युतीय कार उत्पादनको औपचारिक सुरुवात गरेका हुन्। मंगलबार भारतको गुजरातमा रहेको सुजुकीको प्लान्ट पुगेर मोदीले सुजुकीको पहिलो विद्युृतीय कार ई भिटारा उत्पादन सुरुवात गरेका हुन्।
भारतीय अटोमोबाइल उद्योगको इतिहासमा पहिलोपटक मोदीले सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा र लिथियम आयन ब्याट्री सेल उत्पादन प्लान्टसमेत उद्घाटन गरेका हुन्। सो कार्यक्रममा मोदीसहित गुजरातका मुख्यमन्त्री, जापानी राजदूत, सुजुकी मोटर कर्पोरेसन, मारुती सुजुकीका अध्यक्ष र म्यानेजिङ डाइरेक्टर तथा सीईओलगायतको उपस्थिति थियो।
सुजुकीको गुजरातमा रहेको प्लान्टमा उत्पादित ई भिटारा भारतबाट निर्यात हुन लागेको मारुती सुजुकीको पहिलो विद्युतीय कार हो। यो कारको पहिलो सिपमेन्ट युरोपतर्फ हुनेछ। बेलायत, जर्मनी, फ्रान्स, इटाली, नर्वेलगायत देशमा बिक्री हुनेछ।
जापानी कार ब्रान्ड सुजुकीको पहिलो विद्युतीय कार ई भिटारा नेपाली बजारमा पनि आएको छ। केही समयपछि बिक्री सुरु हुने ई भिटारा पहिलोपटक दुई साताअघि शोकेसका लागि नेपाल आएको थियो।

सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले भदौ ३ गतेदेखि भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ मा औपचारिकरुपमा सार्वजनिक गरेको थियो। प्यासेन्जर कार सेगमेन्टमा राम्रो पकड रहेको र नेपाली उपभोक्ताको रोजाइमा परेको सुजुकी यसअघि आईसी इन्जिन भर्सनमा उपलब्ध थियो।
सुजुकी ई भिटारा एसयूभी लिएर नेपाली ईभी बजारमा प्रतिस्पर्धामा उत्रिएको छ। तर उक्त कार नेपाली बजारमा बिक्रीका लागि भने एकदेखि दुई महिना भित्र आइपुग्ने छ।
गएको जनवरीमा भएको ‘भारत मोबिलिटी एक्स्पो २०२५’ मा पहिलो पटक सुजुकीको ईभी सार्वजनिक भएको थियो। ई भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ। यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा आउनेछ। सुजुकी ई भिटाराले एक पटकको फुल चार्जमा ५ सय किलोमिटर रेन्ज दिने दाबी गरिएको छ।
सुजुकीले ई भिटारालाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०७, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको थियो। ई अलग्रिप अप्सन भएको अल ह्वील मोटर ई भिटारामा भने अगाडि १३५ र पछाडि ४८ किलोवाटको मोटरमा आउने कम्पनीले जनाएको छ।

ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जरलगायत विशेषता रहेका छन्।
टोयोटाको ४० पीएल बर्न इलेक्ट्रिक प्लेटफर्ममा बनेको यो मिडसाइज एसयूभी भारतमा नोभेम्बरदेखि बिक्री सुरु हुने बताइएको छ।
ई भिटाराको औपचारिक उत्पादन सुरु गरेको सुजुकीले भारतको गुजरातमा लिथियम आयन सेल र इलृेक्ट्रोड उत्पादन सुरु गरेको घोषणा समेत गरेको छ। यो ब्याट्री सेल उत्पादनले स्ट्रोङ हाइब्रिड कार उत्पादनमा सहयोग पुग्नेछ। गुजरात प्लान्टबाट उत्पादित सेलहरु सुरुमा सुजुकीको ग्रान्ड भिटारा हाइब्रिडमा प्रयोग हुनेछ।
सो प्लान्टबाट वार्षिक १ करोड ८० लाख वटा सेल उत्पादन क्षमता रहेको र यो प्लान्टमा थप १ करोड २० लाख सेल उत्पादन गर्नेगरी विस्तार क्षमता रहेको छ। सुजुकी समूहले भारतमा १ खर्ब भारुभन्दा बढी लगानी गरिसकेको छ। समग्रमा उक्त लगानीबाट भारतमा ११ लाख जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी सृजना गरेको छ।
सुजुकी गुजरात प्लान्टबाट ८ वर्षमा कम्पनीले ४० लाख कार उत्पादन गरेको हो। उक्त प्लान्टबाट हाल बलेनो, स्वीफ्ट, फ्रंक्स र अब ई भिटारा उत्पादन सुरु भएको छ।
