बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

मदनभण्डारी राजमार्गअन्तर्गत सिमलटारी-मच्छी सडक निर्माणमा ढिलाइ

३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
मदनभण्डारी राजमार्गअन्तर्गत सिमलटारी-मच्छी सडक निर्माणमा ढिलाइ

विसं २०७९ कात्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार रुपैयाँमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो।

गुल्मी- मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ। निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्माण नगर्दा वर्षात्मा यात्रुहरूले समस्या भोग्दै आएका छन्। 

सडक निर्माण सुरु भएको करिब तीन वर्षमा सो सडकखण्डमा २६ प्रतिशतमात्र भौतिक प्रगति भएको छ। मदनभण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इञ्जिनियर प्रभात तिवारीका अनुसार उक्त सडकमा ३३ महिनामा २६ प्रतिशत भौतिक र २३ प्रतिशत वित्तीय प्रगति भएको छ। 

गुल्मीको सिमलटारीबाट सौतामारे हुँदै प्यूठानको मच्छीसम्म ३१ कलोमिटर सडक निर्माण गर्ने जिम्मा श्रेष्ठ‐सक्षम जेभीले लिएको थियो। विसं २०७९ कात्तिक ५ गते एक अर्ब ४५ करोड ३३ हजार रुपैयाँमा ३१ किलोमिटर सडक निर्माणको सम्झौता गरिएको थियो।

लामो समयसम्म सडक निर्माणले गति नलिएको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए। नागरिक समाजले पनि पटकपटक गुनासो गरेपछि गुल्मीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाको नेतृत्वमा स्थानीय तह र योजना कार्यालयको संयुक्त टोलीले उक्त सडकखण्डको हालै स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा कामको प्रगति र सडकको अवस्थाबारे जानकारी लिइएको छ।   

सडकको सबवेस, बेस र अस्फाल्ट प्रविधिबाट कालोपत्रलगायतका धेरै काम बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए। 

मदनभण्डारी राजमार्ग योजना कार्यालयले निर्माण व्यवसायीलाई कामको गति बढाउन निरन्तर ताकेता गर्दै आएको जनाएको छ। लगातार काम गरेको खण्डमा २०८३ असार मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य छ।  

निर्माण व्यवसायीको तर्फबाट इञ्जिनियर किसन शाहका अनुसार आर्थिक समस्याका कारण काममा ढिलाइ भएको हो। उनले पुस मसान्त र असार मसान्तमा कार्यालयबाट भुक्तानी पाउन ढिला भएका कारण काममा असर परेको बताए। काम गर्न म्याद थपको प्रक्रिया अघि बढेको र थपिएको म्यादभित्रै सम्पन्न गर्नेे उनले बताए।  रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२१५:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend