शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुंगा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ १० २०८२
पर्यटकीय गन्तव्य बन्दै जन्तीढुंगा

भित्तामा लस्करै रहेको ढुंगा हेर्न सिँढी निर्माण गरिएको छ। जन्तीढुंगाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ।

काभ्रेपलाञ्चोक- बनेपा नगरपालिका-१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुंगा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ। बजारको कोलाहल, धुँवाधुलो र प्रदूषणले नभेट्ने जन्तीढुंगामा आनन्द लिन आउनेहरूको घुइँचो लाग्ने गरेको छ।

हरियाली वातावरणमा आनन्द लिन र टिकटक बनाउन यहाँ आउनेको संख्या बढेको हो। विराटनगर घर भइ हाल काठमाडौं बानेश्वरमा अध्ययनरत विकास यादवले टिकटकमा भिडियो देखेपछि घुम्न आएको बताए।

'यहाँको दृश्यहरू हेर्दा निकै रमाइलो लागेको कारण कलेज बिदाका दिन पारेर घुम्न आएको हुँ', उनले भने, 'यहाँ आएपछि भिडियोमा देखेको भन्दा अझ रमाइलो र आकर्षक लाग्यो।'

बनेपाबाट जन्तीढुंगा आइपुग्नुभएका गणेश तामाङले यहाँ आइपुग्दा रमाइलो लागेको प्रतिक्रिया दिए। 'भिडियोमा त सबै हेर्न पाइँदैन, आफैँ आएर यहाँका हावापानीसँग खेल्दै डाँडासम्म चढेर सुन्दर दृश्य हेर्न पाउँदा झनै रमाइलो हुँदोरहेछ', उनले भने।

स्थानीयबासिन्दा शम्भु कुँवरका अनुसार भौगोलिक दृष्टिकोणले मात्र आकर्षक नभएर जन्तीढुंगा धार्मिक महत्व बोकेको स्थान पनि हो। मौलिक कथन अनुसार भगवान बेथानचोक नारायणले त्यहाँ रहेको पञ्चकन्या देवीसँग विवाह गर्न गरिएको बाचाअनुसार त्यो पूरा गर्न नसक्दा विवाहका लागि पुगेका बेहुलासहित सबै जन्तीहरू शिला (ढुंगा) भएर बसेका कारण त्यो ठाउँको नाम जन्तीढुंगा रहन गएको भनिन्छ।

भित्तामा लस्करै रहेको ढुंगा हेर्न सिँढी निर्माण गरिएको छ। जन्तीढुंगाको माथि रहेको समथर स्थानमा बुद्धको प्रतिमा निर्माण र त्यहाँसम्म जाने सिँढी निर्माण गर्न वडा कार्यालयले योजना बनाइरहेको छ। 

मानिसको घुँइचो बढ्न थालेपछि अहिले यहाँका स्थानीयले पसल सञ्चालन गरी आम्दानी लिन थालेका छन्। पनौती नगरपालिका-४ खत्रीगाउँका देवीमाया खत्रीले मान्छेको आवागमन धेरै हुन थालेपछि पसल गरेर दैनिक एक हजार पाँच सयदेखि पाँच हजारसम्मको व्यापार गर्ने गरेको बताइन्।

बनेपाबाट जनगाल, भैँसेपाटी बाँसडोल हुँदै बुढागणेश मन्दिर हुँदै करिब नौ किलोमिटर पार गरेपछि जन्तीढुंगा पुग्न सकिन्छ। पनौती बसपार्कदेखि चामखर हुँदै पनि यहाँ आइपुग्न सकिन्छ। रासस


प्रकाशित : मंगलबार, भदौ १० २०८२१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend