काठमाडौं- नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाल अब महासंघ बन्ने भएको छ। नाडालाई महासंघ बनाउने निर्णय नाडाको २१औंँ कार्यसमिति बैठकले निर्णय गरेको हो।
नाडाले भदौ २४ का लागि साधारण सभा बेलाएको छ। १७औँ संस्करणको अटो शो सकिएलगत्तै अटो शो आयोजना स्थलमै नाडाको कार्यसमिति बैठक बसेको थियो। बैठकमा विभिन्न विषयमा चर्काचर्किसमेत भएको थियो।
यसकाबीच नाडाले आफूलाई महासंघ बनाउने निर्णय गरेको हो। उक्त निर्णयमा सबैजसो सदस्यले सहमति जनाएका थिए। भदौ २४ मा हुने नाडाको विशेष साधारण सभाले यस विषयमा निर्णय लिनेछ।
नाडाले विशेष साधारण सभाका लागि सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ। ‘२०८२ भदौ ८ गते बसेको नाडाको २१औँ केन्द्रीय कार्यसमितिको बैठकले नाडालाई महासंघमा परिणत गर्ने समेत सम्बन्धमा निर्णयार्थ मिति २०८२ भदौ २४ गते मंगलबार विशेष साधारण सभा बोलाइएकोले नाडाका सदस्यहरुको उपस्थितिका लागि यो सूचना जारी गरिएको छ,’ सूचनामा भनिएको छ।
विशेष साधारण सभा द प्लाजामा बिहान ११ बजेका लागि बोलाइएको हो। नाडा अध्यक्ष करण चौधरीले आफ्नो कार्यकालको दोस्रो अटो शो भव्यताका साथ सम्पन्न गर्दै नाडालाई महासंघमा परिणत गर्ने निर्णय गराएका हुन्।
