काठमाडौं- १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ सकिएको छ। भदौ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरु भएको नाडा अटो शो २०२५ आइतबार सकिएको हो।
नाडा अटो शो समापनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी थिए। उनले नाडा अटो शो २०२५ मा सहभागीमध्ये उत्कृष्ट स्टललाई सम्मान पनि वितरण गरेका थिए।
काठमाडौंको भृकुटीमण्डपमा आइतबारसम्म भएको अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका थिए। यो वर्षको उत्कृष्ट स्टलमा कारतर्फ दिपल र मोटरसाइकलतर्फ रोयल इनफिल्ड उत्कृष्ट घोषित भए।
नाडाले हरेक वर्ष उत्कृष्ट स्टल घोषणा गर्दै आएको छ। त्यस्तै कमर्सियलतर्फ डीएफएसकेको स्टल उत्कृष्ट भएको हो।
अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कारका साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको थियो। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले रुचाएका थिए।
यो संस्करणको अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुईपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका थिए। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका थिए।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको थियो। त्यस्तै, अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भएका थिए।
नाडा अटो शोमा पूर्वप्रधानमन्त्रीदेखि राजनीतिज्ञ तथा उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो। अवलोकनकर्ताको उल्लेख्य सहभागिताले १७औँ संस्करणको नाडा अटो शो २०२५ ऐतिहासिक बनेको नाडाको भनाइ छ।
