काठमाडौं– नेपाल पर्वतारोहण संघ (एनएमए)को नयाँ नेतृत्व चयन भएको छ। शनिबार सम्पन्न निर्वाचनमा अध्यक्षमा फुर गेल्जे शेर्पा विजयी भएका छन्। उनले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गर्दै नेतृत्व सम्हालेका हुन्।
निर्वाचन समितिका अनुसार शेर्पाले ३४२ मत ल्याउँदा गुरुङले २८८ मत पाए। यसअघि सत्ता गठबन्धनका कांग्रेस र एमाले निकट पर्यटन व्यवसायीहरूले गुरुङलाई उम्मेदवार बनाएका थिए भने नेकपा माओवादी केन्द्र र एमालेको बिद्रोही समूह निकट व्यवसायीहरूले शेर्पालाई अघि सारेका थिए।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भए भने प्रतिस्पर्धी टिका गुरुङले २५८ मत पाए । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत प्राप्त गर्दै जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी काजी शेर्पाले २५६ मत पाए । द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए भने धनबहादुर गुरुङले २३८ मत पाए।
महासचिवमा राजेन्द्र बहादुर लामा ३१८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी विमल नहर्कीले २०९ र शिव सापकोटाले ६८ मत पाए। सचिवमा चन्दन थापा ३५८ मत ल्याएर विजयी भए भने ङिमा दिकी शेर्पाले २४४ मत पाए।
कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत ल्याएपछि कार्यकाल आधाआधा गर्ने सहमति भएको छ।
सदस्यतर्फ माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) विजयी भएका छन्।


