काठमाडौं- प्रतिक्षित विद्युतीय कार आईकार भी२३ काठमाडौं आइपुगेको छ।
धेरै उपभोक्ताको पर्खाइमा रहेको आईकार तातोपानी नाकामा आएको पहिरोका कारण नेपाल प्रवेश गर्न सकेको थिएन। पहिरो पन्छाएर बाटो खोलिएपछि आईकार भी२३ शुक्रबार भन्सार जाँचपास भएर काठमाडौंतर्फ लागेको हो।
चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी चेरी अटोमोबाइलको सबब्रान्डका रुपमा रहेको आईकारको लाइफ स्टाइल अफरोड एसयूभी भी२३ नेपाल आइपुगेको छ। नेपालका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले आईकार भी२३ भित्र्याएको हो।
कम्पनीले आईकार भी२३ गत साउन २६ गते सकिएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमै सार्वजनिक गर्ने योजना बनाएको थियो। तर तातोपानी नाका सडक अवरुद्ध हुँदा गाडी नेपाल आइपुग्न सकेन।
अब भने आईकार भी२३ नेपाल आइपुगेकाले एसपीजी अटोमोबाइलले उक्त कार आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि नेपाल भित्रिएको आईकार नेपाली बजारमा जेइको जे सिक्सका नामले बिक्री भइरहेको छ। जेइको जे सिक्स अफरोड एसयूभी मन पराउने धेरै उपभोक्ताको रोजाइमा परिरहेको छ। अहिले एसपीजीले भी२३ भने आईकारकै नाममा नेपाल ल्याएको छ।
लाइफ स्टाइल अफरोड स्टाइलिङ डिजाइनमा रहेको यो ईभीले धेरै युवा ग्राहकको ध्यान तान्ने अनुमान गरिएको छ। चेरी अटोमोबाइलका ओमोडा तथा जेइको ब्रान्डका विद्युतीय कार उल्लेख्य संख्यामा बिक्री भइसकेकाले आईकार भी२३ पनि धेरैको रोजाइमा पर्नेछ।
१ सय किलोवाटको मोटर पावर रहेको आईकार भी२३ रेयरह्वील ड्राइभ अप्सनमा उपलब्ध छ। यो विद्युतीय एसयूभीमा ६० किलोवाट आवरको एलएफपी ब्याट्री प्याक रहेको छ। यो ईभीले एकपटकको फुल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने दाबी कम्पनीले गरेको छ।
आईकार भी२३ विद्युतीय एसयूभीको लम्बाइ ४२ सय २० एमएम, चौडाइ १९ सय १५ एमएम, उचाइ २७ सय ३५ एमएम रहेको छ। अफरोड क्षमताको यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम रहेकाले अफरोडिङमा जानेहरुका लागि पनि यो एसयूभी उपयुक्त हुनेछ।
आईकार भी२३ को मूल्य, अन्य विशेषतालगायतका बारेमा कम्पनीले आगामी साता सार्वजनिक गर्ने क्रममा बताउने जनाएको छ।
