काठमाडौं- चिनियाँ कम्पनी बाइडेन्सले विकास गरेको टिकटक इन्टरनेटको दुनियाँको हटकेक हो। टिकटक आफैमा सफलमात्र होइन कि यसकै शैलीलाई यो क्षेत्रका सबै स्थापित प्ल्याटफर्मले नक्कल गरेका छन्। छोटो भिडियोमा कला देखाउन, हेर्न मिल्ने भएपछि संसारका धेरै मान्छेको मन यसले जितेको छ।
संसारभर ५ अर्ब ५० करोडभन्दा धेरै पटक डाउनलोड भएको छ। यो चीन र भारतबाहेकको तथ्यांक हो। संसारका अन्य दर्जनौँ मुलुकमा पनि यसलाई प्रतिबन्ध लागेको छ।
मासिकरुपमा १ अर्ब ५० करोड सक्रिय प्रयोगकर्ता भएको टिकटक यति धेरै लोकप्रिय छ कि यसले संसारका सयौँ देशको राजनीतिलाई नै प्रभावित बनाउन थालेको छ। लोकतान्त्रिक प्रणालीमा हुने निर्वाचनको जनमतलाई समेत यसले प्रभावित बनाउन थालेको छ।
मनोरञ्जनमा मात्र सीमित नभएर यसले व्यापारदेखि राजनीतिकसम्म प्रभावित पार्न थालेपछि यो आफैमा रणनीतिक माध्यम बनेको छ। आखिर यति छिटै यति धेरै लोकप्रिय किन भयो यो?
टिकटकको अल्गोरिदमका कारण यो सम्भव भएको कुरा कतै पनि लुकेको छैन। टिकटकले यस्तो अल्गोरिदम बनाइदियो कि किशोरदेखि वयस्कसम्म जसले एकपटक चलाउन सुरू गर्छ उ सम्होहित हुने अवस्था बन्यो। यही कारणले गर्दा टिकटकले संसारभरका विभिन्न देशमा मुद्दा खेपिरहेको छ।
विशेषगरी किशोर किशोरीहरूलाई यसको कुलत बस्न थालेको र यही कारणले गर्दा उनीहरूको विकासमा असर पर्न थालेको भन्दै धेरै मुलुकमा मुद्दा मामिला परिरहेको छ। टिकटकको अल्गोरिदम यस्तो छ कि जसले बालबालिका र किशोरकिशोरीलाई लत लाग्छ। यसलाई 'टिकटक कुलत' भन्ने गरिएको छ।
मान्छेहरूलाई राम्रो लाग्ने सबै कुरा राम्रो हुँदैनन्। ठीक यसैगरी टिकटकको लत स्वास्थ्यका हिसाबले राम्रो नभएको विभिन्न मनोचिकित्सकहरूले बताइरहेका छन्। यही आधारमा अमेरिकादेखि फ्रान्ससम्म टिकटकविरुद्ध मुद्दा परेका छन्।
हालैमात्र अमेरिकाको एक अदालतमा यस्तै प्रकृतिको मुद्दामा सुनावाइ भएको थियो। सो क्रममा टिकटककै पूर्व तथा वर्तमान प्राविधिकहरूलाई नै उद्धृत गरेर तयार पारिएको भिडियोमा सो कुरा उल्लेख गरिएको छ।
प्रयोगकर्तालाई टिकाउने, त्यसका लागि उनीहरूले जे खोज्छन् त्यही भिडियो तत्काल देखाउने स्मार्ट अल्गोरिदम रहेको छ। यसले गर्दा बालबालिकामा खाने, निद्रा तथा खेल्नभन्दा यसकै लतमा फस्ने गरेको उक्त आरोप लागेको हो।
अधिक लतवाला यही अल्गोरिदमलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै विभिन्न देशमा यसविरुद्ध मुद्दा परेका छन्।
आत्महत्यालाई उक्साउने खालको अल्गोरिदमलाई नियन्त्रणको माग गर्दै फ्रान्समा मुद्दा परेको छ, किर्गिस्तानमा बालबालिकको मानसिक स्वास्थ्य जोखिमलाई लिएर आरोप लागेको छ। अन्य युरोपेली मुलुक केहीले प्रतिबन्ध नै लगाएका छन्। फ्रान्स, अमेरिका, बेलायतलगायतका देशले सरकारी डिभाइसमा टिकटक इन्स्टल प्रतिबन्ध लगाएको छ।
टिकटकको अल्गोरिदम अहिले संसारभर बहसमा भएपनि यस्तै अल्गोरिदमको अनुसरण मेटा, एक्सलगायतका प्ल्याटफर्मले पनि गरेका छन्। सबै प्रविधि कम्पनीले एउटै उद्देश्य उपभोक्ता तान्नेमात्र नभएर अडाएर राख्ने हो। यो किशोरावस्थाको मुख्य चुनौती बनेर आएको छ।
नेपालमा पनि सरकारले एक वर्षभन्दन धेरै टिकटकमा प्रतिबन्ध लगाएर अहिले खुला गरिसकेको छ।
