बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्मार्टफोनमा ‘एआई’ : एन्ड्रोइड अघिअघि, एप्पल पछिपछि?

शुक्रबार, भदौ ६ २०८२
स्मार्टफोनमा ‘एआई’ : एन्ड्रोइड अघिअघि, एप्पल पछिपछि?

सामसङले पनि गुगलको शक्तिशाली जेमिनी एआई आफ्ना ग्यालेक्सी फोनमा मिसाइसकेको छ। जसले एआईलाई प्रयोगकर्ताको दैनिक जीवनमा नै घुलमिल गराइदिएको छ।

काठमाडौं- संसारभर तीव्र गतिमा विकास भइरहेको ‘एआई’ले सबैभन्दा बढी प्रभाव पारेको मोबाइल फोनको दुनियाँ नै हो। प्रविधि क्रान्तिको यो नयाँ युगमा एआई समर्थित स्मार्टफोनमा विश्वले नयाँ-नयाँ फड्को मारिरहेको छ। 

एक दशकभन्दा अघि स्मार्टफोनमा टचस्क्रिन क्रान्ति आयो। त्यसपछिको फोनमा हुने क्यामेराले ठूलो खेल बदल्यो। अहिलेको दौड कृत्रिम बुद्धिमता (एआई) केन्द्रित छ। जसमा एप्पल आफ्ना प्रतिस्पर्धी एन्ड्रोइडसँग पछि परिरहेको देखिन्छ।  

एप्पलले आफ्ना प्रयोगकर्तालाई ‘सिरी’ को जुन झलक देखाएको थियो त्यो राम्रोसँग अहिले पनि प्रयोगमा आएको छैन। निर्माणकर्ताले गर्व गर्न र प्रयोगकर्ताले तारिफ गर्नसक्ने एआई प्रविधिमा एप्पलले काम गरिरहेकै छ। यस्तोमा गुगल र सामसङले एप्पललाई पछाडि पारिरहेका छन्। 

एप्पल इन्टेलिजेन्सका सेवाहरू खासै प्रभावकारी नदेखिँदा त्यसको उल्टो सामसङले आफ्नो ग्यालेक्सी सिरिजमा गुगल जेमिनी मिसाएको छ भने गुगलले ल्याएको नयाँ पिक्सेल १० पनि एआई सुविधाले भरिपूर्ण छ। यी सुविधा दैनिक जीवनमै प्रयोग गर्न सकिने खालका छन्।

गुगलले हालै सार्वजनिक गरेको पिक्सेल १० ले देखाएको एआई शक्ति विशेष प्रभावशाली रहेको रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। जसमा रहेको क्यामेरा कोचले फोटो खिच्दा निकै प्रभावकारी सुविधाहरू दिइरहेको छ। विभिन्न १२ भाषा प्रयोगकर्ताकै आवाजमा तुरुन्त अनुवाद हुने सुविधा दिएको छ। 

पिक्सेल १० मा ई-मेल, क्यालेन्डर, म्यासेजबाट आवश्यक जानकारी तुरुन्तै निकाल्न सकिने म्याजिक क्यू सुविधा दिएको छ। निद्रा, स्वास्थ्य, व्यायामका आधारमा व्यक्तिगत योजना बनाइदिने फिटनेस कोचको सुविधा पनि छ। जसले फोनलाई केवल उपकरण मात्र नभएर सहयोगी साथीमा रूपान्तरण गरिदिएको छ।

सामसङले पनि गुगलको शक्तिशाली जेमिनी एआई आफ्ना ग्यालेक्सी फोनमा मिसाइसकेको छ। जसले एआईलाई प्रयोगकर्ताको दैनिक जीवनमा नै घुलमिल गराइदिएको छ। यससँगै सामसङ अब हार्डवेयरमा मात्र होइन सफ्टवेयरमा समेत अग्रता खोजिरहेको छ। 

एआई फोनहरू फोटो राम्रो बनाउन र भाषा अनुवाद गर्नमात्र होइन भन्ने विषय अघि सारिएको छ। जहाँ हरेक जानकारीको उपलब्धता, विश्वका जुनसुकै व्यक्तिसँग आफ्नो आवाजमै गर्न सकिने संवाद, शरीरको वास्तविक अवस्थाअनुसार व्यायाम योजना र फोटो भिडियोको फेरिँदो शैली त्यसमा समावेश छन्। 

यस्तोमा विभिन्न बजार अनुसन्धानहरूलाई उद्धृत गर्दै दि वालस्ट्रिट जर्नलले लेखेको छ, ‘आजको दिनमा एआई आवश्यक छैन जस्तो लाग्छ भने पनि भोलिका दिनमा स्मार्टफोनमा एआई बिनाको जीवन सोच्नै नसकिने हुन्छ।'

हुन पनि पहिले स्मार्टफोन आएको समयमा ‘ई-मेलसमेत फोनमा नै किन चाहियो र’ भन्ने धेरैलाई लाग्थ्यो, तर अहिले ईमेलकै लागि कम्प्युटर खोल्न धेरैले छाडिसके। 

अहिले एन्ड्रोइडले पछि पारिरहेको देखिए पनि एप्पलसँग बलियो ब्रान्ड, विश्वसनियता र इकोसिस्टम छ। तर एआईमा ढिलो कदम चाल्नु एप्पलका लागि लागि दीर्घकालीन चुनौती बन्न सक्छ। गुगल र सामसङले जस्तै प्रयोगकर्तालाई व्यावहारिक फाइदा दिने सुविधा ल्याउनुपर्ने देखिन्छ। एप्पलले ढिलो भए पनि प्रविधि जगतको खेल बदल्ने क्षमता त राख्छ नै। 


प्रकाशित : शुक्रबार, भदौ ६ २०८२०९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend