काठमाडौं- सवारीसाधन आवश्यकतासँगै शोख र विलासितामा अघि बढिरहँदा यसको 'ग्ल्यामर'ले धेरैलाई आकर्षित गर्न थालेको छ। यसैले त सवारीसाधन बेच्ने र किन्नेहरूबीच मात्र होइन त्यसबाहिर पनि 'अटो शो' को चहकमहक फैलिँदो छ।
काठमाडौं भृकुटीमण्डपमा चलिरहेको 'नाडा अटो शो २०२५' मा पनि अटो शोको त्यस्तै व्यापक आकर्षण देख्न सकिन्छ। १७ औँ संस्करणमा पुगेको अटो शोले आफ्नो गह्रौँ विरासतलाई जोगाइरहेको छ।
समयक्रमसँगै सवारीसाधनको क्षेत्रमा आइरहेको व्यापकताले विश्वभर ‘प्रदर्शनी र बिक्री मेलाहरु’ हुन थालेका हुन्। आयातमै निर्भर भएपनि विगतदेखि नै नेपालमा समेत सवारीसाधनको बिक्री र आयात हुने सवारी ब्रान्डको संख्या उल्लेख्य रहेको छ। सोही कारण नेपालमा पनि विश्वभर हुने गरेजस्तै सवारी प्रदर्शनी हुन थाल्यो।
२०५५ सालमा नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन (अहिलेको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल)ले पहिलोपटक अटो शो आयोजना गरेको थियो। त्यो पहिलो अटो शोमा २६ ब्रान्ड सहभागी थिए।
पहिलो र अहिलेको १७ औँ संस्करणको अटो शो हुने स्थान भने एउटै छ, काठमाडौं भृकुटीमण्डप। यदाकदा अटो शो तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रनमा पनि हुने गरेको थियो। अहिले स्थान उही भए पनि अधिकांश प्रदर्शक बदलिए, कयौँ नयाँ ब्रान्ड आइसक्दा नाडा अटो शोको ओज भने बदलिएको छैन। नाडा अटो शोको गरिमा र चर्चा हरेक संस्करणपिच्छे थपिँदै गइरहेको छ।
यो वर्ष नेपालको इतिहासमै दुईवटा अटो शो भए। नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' गएको साउन २१ गतेदेखि ६ दिनसम्म चल्यो।
नाइमाले आफ्नो पहिलो संस्करण गर्दा धेरैले नाडा अटो शोबारे संशय राखेका थिए। दुईवटा अटो शो भएकाले स्वाभाविकरुपमा ब्रान्डहरु बाँडिए। यसबीच नाडाले नडगमगाइ आफ्नो विरासत जोगाउन सफल भएको छ। नाडा अटो शो २०२५ को तेस्रो दिनसम्म प्रदर्शनकर्ताको साथ उल्लेख्य छ।
नाडा अटो शोमा अटोमोबाइलको इकोसिस्टम नै प्रदर्शनीमा राखिँदै आएको छ। अटो शोमा सवारीसाधनका साथै त्यससँग सम्बन्धित कम्पोनेन्ट, ग्यारेज उपकरणलगायत सवारीसाधनमा प्रयोग हुने सबै वस्तु तथा सेवाबारे जानकारी लिन र खरिदसमेत गर्ने अवसर नाडाले एकै छानामुनी प्रदान गर्छ।
नाडाले स्टल र त्यहाँको फ्लोर व्यवस्थापनमा अहिले निकै सुधार गरेको छ। सबैभन्दा महत्वपूर्ण कुरा यो वर्षको नाडा अटो शोमा भविष्यमुखी मोबिलिटी प्रदर्शनीमा उतारिएको छ। उड्ने ट्याक्सीदेखि रोबोटसम्म अटो शोको धेरैको आकर्षणका रुपमा रहेको छ।
नाडाले यो वर्षको अटो शोमा पहिलोपटक भिन्टेज कारका लागि अलग्गै ठाउँ दिएर प्राथमिकताका साथ प्रदर्शनीमा राखेको छ। १९४०-५० को दशकका फोर्ड, मस्टाङ, मर्सिडिज, क्राइसलरलगायत एक दर्जन भिन्टेज कार प्रदर्शनीमा राखिएका छन्।
१७औँ संस्करणको नाडा अटो शो पहिलोपटक प्रधानमन्त्रीले उद्घाटन गरे। जसले प्रदर्शनी, आयोजक संस्था र त्यसको नेतृत्वको ‘रिकग्नाइजेनस’ भएको रुपमा बुझिएको छ। उद्घाटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नाडाको अध्यक्ष 'योङ, डाइनामिक र केही गरौँ भन्ने जोसिलो युवा' भएको भन्दै करण चौधरीको प्रशंसा गरेका थिए।
नाडाले भनेजसरी पार्किङको व्यवस्थापन नदेखिए पनि स्टलको व्यवस्थापन, भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलसहित गार्डेनसमेतको प्रयोग गरेर अवलोकनकर्ताको आवागमनलाई सजिलो र व्यवस्थित बनाउने प्रयास भएको देखिन्छ। टिकट काट्ने स्थानहरुलाई पनि विगतको भन्दा व्यवस्थित बनाउने खोजिएको छ। पानी पर्ने समय भएकाले विगतमा जस्तो नहोस् भनेर नाडाले गेटदेखि नै सबै ठाउँमा छाना मिलाएको छ।
नाडा अध्यक्ष तथा नाडा अटो शोका संयोजक करण चौधरीले भएको स्रोतसाधनलाई उपयोग गरेर अवलोकनकर्ताको सहजताका लागि भरपुर प्रयास गरिएको बताए। ‘यो वर्षको नाडा अटो शो विगतको भन्दा धेरै मानेमा राम्रो र पृथक गर्न खोजिएको छ,’ उनले भने, ‘त्यो अवलोकनकर्ताले पनि महसुस गर्न सक्छन्। यो वर्षको अटो शोमा फ्युचरस्टिक मोबिलिटीदेखि नयाँनयाँ मोडलका कार तथा मोटरसाइकल, कमर्सियल सवारीसहित स्पेयर पार्ट्स राखिएका छन्।’
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्ड सहभागी छन्। त्यस्तै ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल छन्।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कसहित सबै कुरालाई व्यवस्थित बनाउने प्रयास भएका छन्। त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत भइरहेका छन्।
नाडा अटो शो २०२५ को पहिलो दिन १९ हजार ७ सय ६ जना र दोस्रो दिन २८ हजार ९ सय ७८ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। अटो शोको दोस्रो दिन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले समेत नाडा अटो शोको अवलोकन गरेका थिए।
