काठमाडौं- बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ। ठाडो खोलामा अवस्थित ताराखोलामा हाल दुई आयोजनासम्पन्न भइसकेका छन् भने दुई निर्माणाधीन र दुई प्रक्रियामा रहेका छन्।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका-२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ। यो निजी कम्पनीको पहिलो आयोजना हो। यसअघि समुदायको पहलमा स-साना लघु जलविद्युत् सञ्चालनमा थिए।
ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा छन्। यसमध्ये ताराखोला जलविद्युत् आयोजना पहिले नै सम्पन्न भइसकेको छ भने अन्य चारवटा निर्माणको चरणमा छन्।
पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो। हाल मध्यताराखोला मध्यदरम ‘ए’ आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। चार मेगावाट क्षमताको पूर्वाधार निर्माणमा ४० प्रतिशत काम सम्पन्न भएको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए।
यस्तै, तीन दशमलव पाँच मेगावाट तल्लो ताराखोला र चार दशमलव पाँच मेगावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ।
गाउँपालिका अध्यक्ष धनबहादुर विकले भने, 'स्थानीयको समेत लगानी भएकाले यी आयोजनाले आर्थिक विकासमा ठूलो टेवा पुग्नेछ। मध्यदरम ‘ए’ र ताराखोला आयोजनाले गति लिँदा अन्य तीन आयोजनाको काम पनि अघि बढेको छ। सफल भएमा यसले ताराखोलाको समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ।'
अध्यक्ष प्रकाश घर्तीले पनि आयोजनाको निर्माणले स्थानीयस्तरमा उत्साह बढाएको बताउँदै भने, 'हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो। यसले आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पार्नेछ।' रासस
