बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नाडा अटो शो : सवारी कर्जाको ब्याजदरमा बैंकहरूको प्रतिस्पर्धा, उपभोक्तालाई लाभ

बिहीबार , भदौ ५ २०८२
नाडा अटो शो : सवारी कर्जाको ब्याजदरमा बैंकहरूको प्रतिस्पर्धा, उपभोक्तालाई लाभ

नाडा अटो शोमा आधा दर्जन वाणिज्य बैंकहरूले स्टल राखेका छन्।  ती बैंकले प्राथमिकता साथ अटो लोनमा ऋणीले तिर्नुपर्ने ब्याजदरलाई केन्द्रित गरेका छन्।

काठमाडौं- ब्याजदर न्यून बिन्दुमा रहेको र अर्थतन्त्रको विस्तार उल्लेख्य नहुँदा बैंकहरुमा तरलता थुप्रिएको छ। बैंकहरुले सस्ता ब्याजमा कर्जा प्रवाह गरिरहेका छन्। गएको मंगलबारदेखि नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको अटो शोमा पनि बैंकहरुले प्रतिस्पर्धी ब्याजदरमा अटो लोन दिने अफर ल्याएका छन्। 

बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाबीच सवारी कर्जा (अटो लोन)को ब्याजदरमा समेत प्रतिस्पर्धा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्यावधिक तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको ६ खर्ब ५६ अर्ब रुपैयाँ तरलता केन्द्रीय बैंकमा थुप्रिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सवारीसाधनको मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने व्यवस्था गरेको छ। यो व्यवस्था सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा समेत लागु गरिएको छ। 

कर्जा सीमा सवारीसाधनको मूल्यको ६० प्रतिशत तोकेको भए पनि नाडा अटो शोमा बैंकहरुले ब्याजदर र सेवा शुल्कमै सहुलियत दिएर उपभोक्ता आकर्षित गर्न खोजेको प्रष्ट हुन्छ। 

नाडा अटो शोको अफरका रुपमा बैंकहरूले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएका छन्। त्यसैगरी ब्याजदर ६ देखि ८ प्रतिशतबीचमा प्रतिस्पर्धा गरेका छन्। बैंकहरूले निश्चित र चल्ती दुवै ब्याजदरमा कर्जा दिने बताएका छन्। सवारी कर्जाको अवधि भने सबैजसो बैंकहरूको ५ देखि ७ वर्ष रहेको छ।  

nada banks (8).jpg

बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा क्षेत्रगत लगानी बढाउने अवसरसमेत प्रप्त गरेका हुन्। त्यसले गर्दा पनि अनुत्पादक भनिएका क्षेत्रका कर्जाको ब्याजदरसमेत एकल अंकमा झरेको छ।

नाडा अटो शोमा आधा दर्जन वाणिज्य बैंकहरूले स्टल राखेका छन्। ती बैंकले प्राथमिकता साथ अटो लोनमा ऋणीले तिर्नुपर्ने ब्याजदरलाई अलि बढी केन्द्रित गरेका छन्।  

अटो शोमा सबैभन्दा कम ब्याजदरमा अटो लोन कृषि किवास बैंकले ल्याएको छ। बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत बैंकले ग्राहकलाई ६.२३ प्रतिशतमै सवारी कर्जा दिइने जनाएको छ। 

nada banks (2).jpg

त्यसैगरी ग्लोबल आइएमई बैंकले ६.९९ प्रतिशत ब्याजदर सवारी कर्जा दिइरहेको छ।  बैंकले सेवा शुल्कमा समेत ०.५ प्रतिशतबाट ०.२५ प्रतिशतमा झारेको छ।

लक्ष्मी सनराइ बैंकले नाडा अटो शो नै लक्षित गर्दै आगामी १४ मंसिरसम्म लागु हुने गरी सवारी कर्जामा छुटको अफर ल्याएको छ। बैंकले ७ वर्षका लागि फिक्स्ड ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने बताएको छ। 

nada banks (4).jpg

नाडा अटो शोका लागि सानिमा बैंकले पनि छुट योजना ल्याएको छ। बैंकले ग्राहकलाई सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ भने ७ वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ तोकेको छ जुन ५ वर्षको ७.९९  प्रतिशत रहेको बैंकले जनाएको छ।

यता बैंकले आईसी इन्जिन गाडीका लागि मूल्यको ५० प्रतिशत र विद्युतीयका लागि ६० प्रतिशतसम्म कर्जा दिने बताएको छ। 

nada banks (3).jpg

हिमालयन बैंकले पनि अन्य बैंकले मूल्यको ६० प्रतिशत फाइनान्सिङ गर्ने, सेवा शुल्कमा ०.२५ प्रतिशत बिन्दुले छुट दिने र ब्याजदर ७.५ हुने अफर ल्याएको छ। 

विद्युतीय सवारी कर्जामा आक्रामक रहेको नबिल बैंकले नाडामा ६.७४ प्रतिशत ब्याजदरमै कर्जा दिने बताएको छ। नबिलले ७ वर्षका लागि गाडीको मूल्यको ६० प्रतिशत कर्जा दिने उल्लेख गरेको छ। नबिलले बैंकबाट कर्जा लिनका लागि मासिक किस्ताको दोब्बर आम्दानी हुनुपर्ने सर्त राखेको छ। 

nada banks (7).jpg

नेपाल एसबीआई बैंकले भने कर्जाको अवधिका आधारमा ब्याजदर तोकेको छ। बैंकले ७.९९ प्रतिशत ब्याजदरमा ३ वर्ष, ८.४९ प्रतिशतमा ५ वर्ष र ८.९९ प्रतिशत ब्याज ७ वर्षका लागि कर्जाका दिइने बैंकले जनाएको छ। नाडा अटो शो लक्षित गर्दै एनएमबि बैंकले आईसी इन्जिन र विद्युतीय गाडीको कर्जामा लिने ब्याजदर फरक तोकेको छ।

बैंकले आईसी इन्जिन गाडीका लागि आधार दरमा ४.५ प्रतिशत प्रिमियम थपेर तोकेको छ भने कर्जाको अवधि ७ वर्ष रहेको बैंकले जनाएको छ। यता विद्युतीय सवारीका लागि दिने सोही अवधिको कर्जाको ब्याजदर ७.१३ प्रतिशत कायम हुनेछ। 

नाडा अटो शोका लागि बैंकहरुले सहज र सरल रुपमा कर्जा उपलब्ध गराउने छन्। बैंकहरुले तोकेको ब्याजदर फरक रहेपनि अन्य सुविधागहरु भने करिब उस्तै छन्। 

nada banks (6).jpg

 


प्रकाशित : बिहीबार , भदौ ५ २०८२०६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend