शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपाल एयरलाइन्सको 'ह्याक भएको' भनिएको दुई करोड रुपैयाँ दुई वर्षसम्म भएन फिर्ता

कार्यकारी अध्यक्ष अधिकारीमाथि नै बढ्यो शंका

बुधबार, भदौ ४ २०८२

अहिले त हरेक महिनाजस्तो यही विषयमा थप जानकारी लिन जाने भन्दै निगमका कर्मचारीलाई दुबई भ्रमणको अवसर बनेको छ।

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका कर्मचारीको लापरबाहीका कारण 'ह्याकर'ले दुई करोड रुपैयाँ लगेको दुई वर्ष भइसक्दा पनि रकम फिर्ता भएको छैन। 

ह्याक भएको भनिएको रकम यति लामो समयसम्म पनि निगमले फिर्ता गर्न नसक्दा कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि नै शंकाका प्रश्नहरू उब्जिएका छन्। 

कार्यकारी अध्यक्ष अधिकारीले नै तत्कालीन दुबई स्टेसनका कर्मचारीसँगको सेटिङमा रकम आफै लगेको हुनसक्ने चर्चा निगमका कर्मचारीबीच हुन थालेको छ। लापरबाही गर्ने कर्मचारीलाई कुनै कारबाही नहुनु र छानबीन समितिको रिपोर्टसमेत कार्यान्वयनमा नलैजानुको पछाडि सेटिङ नै भएको आरोप लागिरहेको छ। अधिकारीले कर्मचारीको सेटिङमा रकम ह्याक भएको भन्दै दुई करोड रुपैयाँ हिनामिना गरेको हुनसक्ने निगमकै कर्मचारीहरू बताउँछन्। 

निगमको दुबई स्टेसनका कर्मचारीले ठगीका सामान्य विषयसमेत नबुझ्दा दुई करोड रूपैयाँ ह्याकरले लगेको थियो। ह्याकरले निगमको दुबई स्टेसनको ईमेल आईडी ह्याक गरी क्याटरिङ कम्पनीको खाता नम्बर परिवर्तन भएको र नयाँ खाता नम्बरमा रकम हाल्न भन्दै रकम ठगी गरेको निगमको दाबी छ। तर दुई वर्ष हुँदासम्म रकम फिर्ता नआएपछि शंका बढेको छ।

ह्याकरको खातामा दुबई स्टेसन प्रमुख अस्मिता सुवेदीले तीनपटकसम्म गरी दुई करोड रकम हालेकी थिइन्। कार्यकारी अध्यक्ष अधिकारीले अहिले काठमाडौं केन्द्रीय कार्यालयमा नै सुवेदीलाई जिम्मेवारी दिएर काम गराइरहेका छन्। गल्ती गर्ने कर्मचारीलाई निलम्बन गरेर छानबीन गर्नुपर्ने भएपनि कुनै कारबाही नगरी अधिकारीले जिम्मेवारीमा नै काम गराइरहेका हुन्। 

अस्मिता सुवेदीले सन् २०२३ को अगस्ट १ तारिखमा १ लाख १५ हजार १ सय ५३ दुबई दिराम, अगस्ट ९ तारिखमा २ लाख २० हजार ६ सय २ दिराम र अगस्ट २५ तारिखमा २ लाख १ सय दिराम गरी तीन किस्तामा कुल ५ लाख ३५ हजार ९ सय १२ दिराम ह्याकरको खातामा हालेकी थिइन्।

तत्कालीन सयममा एक दिरामबराबर ३६ रूपैयाँको हिसाबमा ५ लाख ३५ हजार ८ सय ५५ दिरामबराबर १ करोड ९२ लाख ९० हजार ७ सय ८० रूपैयाँ ह्याक भएको हो। उक्त रकम अहिलेसम्म पनि फिर्ता आउन सकेको छैन।

सानो रकमको आदानप्रदानमा समेत दोहोरो जाँच गरेर खाता नम्बर यकीन भएपछि मात्रै भुक्तानी गर्नुपर्ने विषय सामान्य आर्थिक चेतना हो। कर्मचारीले लेनदेनको सामान्य चेतनासमेत प्रयोग नगर्दा अन्तराष्ट्रिय लज्जाको विषय हुनेगरी निगम ठगिएको छ। रकम ह्याकरले लगेको विषयमा निगमले अध्ययन समिति बनाएर अध्ययन गर्नुका साथै रकम फिर्ता ल्याउनका लागि ३६ लाख रुपैयाँ खर्च गरेर परामर्शदातासमेत नियुक्त गरेको थियो। 

अहिले त हरेक महिनाजस्तो यही विषयमा थप जानकारी लिन जाने भन्दै निगमका कर्मचारीलाई दुबई भ्रमणको अवसर बनेको छ।

रकम ह्याक भएको विषय संसदीय समितिमा समेत उठेको थियो। कार्यकारी अध्यक्ष अधिकारीले सबैलाई रकम आउने बताएपनि अहिलेसम्म रकम निगमको खातामा आएको छैन।

निगम सञ्चालकहरूले समेत अधिकारीलाई बारम्बार यो विषयमा प्रश्न गरिरहेको एक सञ्चालकले बताए। तर कार्यकारी अध्यक्ष अधिकारीले रकम आउँछमात्रै भन्दै त्यसबाहेक कुनै विवरण बोर्डमा दिएका छैनन्। 


प्रकाशित : बुधबार, भदौ ४ २०८२१६:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend