काठमाडौं- मंगलबारदेखि सुरु भएको १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा पहिलो दिन नै उत्साहजनक सहभागिता देखिएको छ। प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सुरू अटो शोको पहिलो दिन १९ हजार ७ सय ६ जनाले अवलोकन गरेका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा पछिल्ला वर्षहरुमा हरेक वर्ष हुँदै आएको नाडा अटो शोको १७औँ संकस्करण पहिलोपटक प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्।
अटो शोमा रोबोट, नाच्ने कुकुरदेखि उड्ने कारसम्म राखिएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो हाम्रो भविष्यको प्रारम्भ भएको बताएका थिए।
आज मंगलबारदेखि सुरु भएर ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्।
अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन्।
नाडा अटो शोमा १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै, अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत हुनेछन्। पहिलो दिन इन्टरनेसनल अटो ट्रेड डाइलग भएकाे हाे।
नाडा अटो शोमा एक दर्जनभन्दा बढी नयाँ सवारी सार्वजनिक भएका हुन्। नाडा अटोमा पनि विद्युतीय सवारीसाधन उल्लेख्य रुपमा देख्न पाइनेछ।
