शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

क्रिएटरमा आधारित टिकटक स्टोरी टेलिङमार्फत् नेपालका प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई उजागर गर्ने लक्ष्य

मंगलबार, भदौ ३ २०८२
विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ।

काठमाडौं- नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले आज संयुक्त साझेदारीको घोषणा गरेका छन्।

यो पहलको केन्द्रमा ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स रहेको छ, जुन क्रिएटरले लिड गर्ने एक अभियान हो र यसले विशेष इन-एप एक्सपिरियन्स प्रदान गरी यात्रुहरुलाई नेपालका घुम्नैपर्ने गन्तव्य र प्रचार नभएका उत्कृष्ट ठाउँहरू पत्ता लगाउन सहयोग गर्नेछ।

एनटीबी र टिकटकले एकसाथ स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरहरुसँग सहकार्य गर्नेछन्, जसअनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइनेछ र उनीहरुको यात्रालाई छोटा आकर्षक भिडियो बनाएर त्यसमार्फत् संसारभरका दर्शकसामु नेपालका सुन्दर प्राकृतिक एवम् सांस्कृतिक सम्पदाहरू प्रस्तुत गर्नेछ।

अभियान अवधिभर क्रियटरहरूले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, चाडपर्व, उत्सव, कला, खानपान र सामुदायिक परम्परालाई विश्वसामु प्रस्तुत गर्ने खालका कन्टेन्टहरू बनाइ टिकटकमार्फत् सार्वजनिक गर्नेछन्, जसले भविष्यमा थप पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने विश्वास लिइएको छ।

एनटीबीले नेपाल भ्रमणमा आउने क्रिएटरहरुलाई स्वागत गर्नेछ र काठमाडौं उपत्यका तथा अन्य गन्तव्यहरूमा पुग्दा उनीहरूलाई सहज पहुँच होस् भनेर यात्रा, आतिथ्य तथा विज्ञ मार्गदर्शनको समन्वय गर्नेछ।

एनटीबीले अभियानका क्रममा र कार्यक्रमहरूमा सहभागी गराउन प्रख्यात सार्वजनिक व्यक्तित्वहरू, कलाकारहरू तथा सांस्कृतिक दूतहरूलाई पनि आमन्त्रण गर्नेछ, जसले नेपालको बारेमा देशभित्र र बाहिरका पर्यटकहरूसम्म पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्नेछन्।

स्थानीयस्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले एनटीबीसँग सहकार्य गरी नेपालमा तीनवटा क्षमता विकास कार्यशाला आयोजना गर्नेछ, जसले स्वदेशी ट्राभल कन्टेन्ट क्रिएटरहरुलाई डिजिटल स्टोरीटेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नेछ। योसँगै टिकटकले नेपालका साना तथा मझौला उद्यम (एसएमईएस) र पर्यटन व्यवसायीहरुलाई समेत आफ्नो उत्पादन तथा सेवाहरुलाई टिकटकमार्फत दर्शकसमक्ष प्रस्तुत गर्ने तरिका सिकाउने छ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन नयाँ अध्यायको सुरुवात गरेको बताए। 'यस साझेदारीले टिकटकको विश्वव्यापी पहुँचलाई हाम्रो देशका सुन्दर र अविष्मरणीय अनुभवहरुसँग जोड्न र अझै धेरै पर्यटकहरुलाई आफ्नो आगामी गन्तव्यका लागि नेपाल नै रोज्न प्रेरित गर्ने विश्वास हामीले लिएका छौँ', उनले भने।

टिकटकका दक्षिण एसियाका पब्लिक पोलिसी तथा गभर्मेन्ट रिलेसन्स प्रमुख फर्दोस मोत्ताकिनले एनटीबीसँग सहकार्य गरी नेपालका प्राकृतिक एवम् सांस्कृतिक सम्पदा र न्यानो आतिथ्यलाई विश्वसामु प्रस्तुत गर्न उत्साहित रहेको बताइन्। उनले भनिन्, 'नेपालमा संसारकै अद्‌भूत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभवहरूको आनन्द लिन सकिन्छ।'

२०२५ को बाँकी अवधिभरि चरणबद्धरुपमा अघि बढ्ने यो सहकार्यमार्फत् टिकटकमा निरन्तररूपमा क्रिएटर कन्टेन्टसँगै विशेष ह्यासट्याग भिजिट नेपाल इन-एप एक्सपिरियन्स पनि उपलब्ध हुनेछ।

यस अभियानको मुख्य आकर्षण यसै वर्ष काठमाडौंमा आयोजना हुने ह्यासट्याग भिजिट नेपाल इभेन्ट हुनेछ जसमा क्रिएटर, पर्यटन सरोकारवाला र संस्कृतिको क्षेत्रका प्रतिनिधिहरु भेला भई नेपाललाई प्रमुख पर्यटन गन्तव्यका रुपमा चिनाउने छन्।

प्रयोगकर्ताले टिकटकमा ह्यासट्याग लाइफटाइम एक्सपिरियन्स र ह्यासट्याग भिजिट नेपालमार्फत् यस यात्रालाई नियाल्न सक्नेछन्।


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend