बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सुरु भयो १७औँ संस्करणको नाडा अटो शो, प्रधानमन्त्री ओलीले गरे उद्‍घाटन

मंगलबार, भदौ ३ २०८२
सुरु भयो १७औँ संस्करणको नाडा अटो शो, प्रधानमन्त्री ओलीले गरे उद्‍घाटन

मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्।

काठमाडौं- १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भएको नाडा अटो शो पहिलोपटक प्रधानमन्त्रीले उद्घाटन गरेका हुन्। 

यसअघि अर्थमन्त्री वा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले गर्दै आएका थिए। नाडा अध्यक्ष करण चौधरीको संयोजनमा पहिलोपटक अटो शो उद्घाटनमा प्रधानमन्त्रीमार्फत नै उद्घाटन भएको हो।

अटो शोमा रोबोट, नाच्ने कुकुरदेखि उड्ने कारसम्म राखिएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो हाम्रो भविष्यको प्रारम्भ भएको बताए। साथै उनले अटो शो सफल हुने विश्वास व्यक्त गरे।

यस्तै, नाडा अध्यक्ष करण चौधरीले रोजगारीदेखि राजस्व बढाउनसम्म नाडाको महत्वपूर्ण योगदान रहेको बताए। अटो शो केवल प्रदर्शनीमात्र नभएर प्रविधिबारे बुझ्ने राम्रो अवसर र स्थान भएको उनको भनाइ छ।

आज मंगलबारदेखि सुरु भएर ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म राखिएका छन्। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी प्रदर्शनीमा छन्।

kp oli - nada auto show.jpg

अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कार साथै एक दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि भएको छ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने छन्।

नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्। 

अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। त्यस्तै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेको छ।

स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्ट्सको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको छ। त्यस्तै, अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत हुनेछन्। 

नाडा अटो शो २०२५ को मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ। एमएडब्लूले ल्याएको रोबोट र उड्ने कार नाडाको आकर्षणका रुपमा रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ ३ २०८२१२:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend