काठमाडौं- भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शोमा उड्ने कार र रोबोट प्रदर्शनीमा राखिएको छ। नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा यो वर्ष अत्यधुनिक उपकरणसमेत प्रदर्शन गरिएको हो।
१७ औँ संस्करणको 'नाडा अटो शो २०२५' मा उड्ने कार र रोबोटमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ।
चिनियाँ कम्पनी हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले उत्पादन गरेको युनिट्री रोबोट नाडामा प्रदर्शनीका लागि राखिएको छ।
युनिट्री ’नाडा अटो शो २०२५’ को टाइटल स्पोन्सरसमेत रहेको छ। हाङझाउ युशु टेक्नोलोजी कम्पनी लिमिटेडले युनिट्री रोबोटको ट्रेडमार्क बनाएर यही नाममा रोबोट म्यान र रोबोट डग उत्पादन गरिरहेको छ। नाडा अटो शोमा रोबोट म्यान तथा रोबोट डग दुवै प्रदर्शनीमा राखिएको छ।
त्यसैगरी, नाडा अटो शोमा दिपलको उड्ने कार पनि राखिएको छ। एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले दिपलका अत्यधुनिक विशेषतायुक्त विद्युतीय कार बिक्री गर्दै आएको छ। कम्पनीले नाडा अटो शो २०२५ को आकर्षणका रुपमा रहने उड्ने कार शोकेसमा राखेको हो।
भविष्यको सहरी यातायातको रुपमा रहने अनुमान गरिएको उड्ने कार धेरैको चासोको विषय बनेको छ। अमेरिकादेखि चीनसम्मले उड्ने कारका लागि आवश्यक कानून बनाइसकेको र बनाउने क्रममा रहेका छन्। त्यस्तै खाडी मुलुकहरू दुबईलगायत देशले पनि उड्ने कारको परीक्षणलगायतको अनुमति दिइसकेका छन्।
नेपाली बजारमा पनि शोकेसकै लागि भएपनि उड्ने कार पहिलोपटक नेपाल आएको छ। नेपालमा उड्ने कार ल्याउने पहिलो कम्पनी एमएडब्लू बनेको छ। एमएडब्लूले नेपालमै पहिलोपटक दिपलको उड्ने कार ‘दिपल इभीटीओल युएभी’ नाडामा शोकेसका लागि राखेको हो।
दिपलले विकास गरेको उड्ने कार सिधै उड्न र ल्यान्ड गर्न सक्छ। कम्पनीले यसलाई अनम्यान्ड एरियल भेहिकल (यूएभी) भनेको छ। यो उड्ने कार पूर्ण विद्युतीय हो।
चीनमा धेरै वटा कम्पनीहरूले उड्ने कार बनाइरहेका छन्। गएको अप्रिलमा भएको सांघाई अटो शो २०२५ मा ५ वटा ब्रान्डले उड्ने कार शोकेसमा राखेका थिए। चीनमा केही कम्पनीले उड्ने कार चलाउनकै लागिसमेत अनुमति पाइसकेका छन्।
