शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

मुन्धुम पदमार्गको घरबासमा पुस्तकालयको व्यवस्था

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ ३ २०८२
मुन्धुम पदमार्गको घरबासमा पुस्तकालयको व्यवस्था

'जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइको होमस्टेको सत्कार र स्वादलाई अझै पनि मैले भुल्न सकिरहेको छैन। त्यहाँ पुग्दा तन, मन, मष्तिस्क आनन्दित भयो। खुला ठाउँमा सञ्चालित होमस्टे सबैका लागि पुग्नैपर्ने स्थान बनेको छ'

भोजपुर- भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा सञ्चालित गोठेसिं ‘होमस्टे’ (घरबास) पर्यटक र स्थानीयको रोजाइमा परेको छ। यहाँ घरबास सञ्चालनमा आएसँगै अर्गानिक स्वाद र सत्कारले पर्यटनलाई आकर्षित गर्न थालेको हो। 

सरकारले १०० पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्धुम ट्रेल’ लाई सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ।

फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा, चखेवाभञ्ज्याङ घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ प्रमुख रोजाइमा पर्ने गरेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

उनले भने, 'मीठो किराँती संस्कारसहित न्यानो अतिथि सत्कार, अर्गानिक खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा एकमात्र पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।' यहाँ आउने तथा बस्नेका लागि पुस्तककोसमेत व्यवस्थापन गरिएको छ। यहाँ विभिन्न पुस्तकसमेत अध्ययनको व्यवस्था छ।

टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुको श्यामशिलामा रहेको होमस्टे जिल्ला सदरमुकामबाट करिब ४० किलोमिटर पश्चिममा पर्दछ। स्थानीय प्रकाश राईले करिब २६ लाखको निजी लगानीमा व्यावसायिक होमस्टे सञ्चालन गरेका हुन्। 

आफ्नै ५७ रोपनी जग्गामा सञ्चालित होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटकको आगमनमा वृद्धि हुन थालेको सञ्चालक राईले बताए।

'होमस्टे खोलेपछि यहाँको पर्यटन प्रवर्द्धनको विकाससँगै यसले आम्दानीको स्रोत पनि बढाएको छ', उनले भने, 'यहाँ आउने पाहुनालाई अर्गानिक स्वाद दिने निरन्तर कोशिस गरिरहेका छौँ। उहाँहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ।'

सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँटहरू, कञ्चनजङ्घा, मकालुलगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृङ्खला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल, जिल्ला सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सयौँको सङ्ख्यामा यहाँ पर्यटक आउने गरेका आन्तरिक पर्यटक अशोक खतिवडाले बताए। 

'जिल्लामा पहिलो पटक सञ्चालनमा ल्याइको होमस्टेको सत्कार र स्वादलाई अझै पनि मैले भुल्न सकिरहेको छैन। त्यहाँ पुग्दा तन, मन, मष्तिस्क आनन्दित भयो। खुला ठाउँमा सञ्चालित होमस्टे सबैका लागि पुग्नैपर्ने स्थान बनेको छ', उनले भने। 

प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेका लागि यो होमस्टे सुन्दर र आकर्षक गन्तव्य बनेको छ। पारिवारिक वातावरण, किराँती संस्कृति र स्वादिष्ट परिकाले होमस्टेको बसाइ रमाइलो हुने संस्कृतिविद् डा भक्त राईको धारणा छ। उनले होमस्टेमा रहेको पुस्तकालयलाई व्यवस्थित गर्न आफूहरु पनि लागिपरेको बताए। 

जिल्लाको पहिलो र एकमात्र प्रमुख पर्यटकीय पदमार्गमा पर्ने होमस्टेमा किराँती संस्कारअनुसारका सामग्री, लवाइखवाइ, सांस्कृतिक महत्वका सामाग्री, खाना, बासको राम्रो प्रबन्ध गरिएको स्थानीय गणेश श्रेष्ठको भनाइ छ।

सुरुमा सामूहिक रुपमा व्यावसायिक होमस्टे खोल्ने प्रस्ताव गरिए पनि गाउँका स्थानीयवासीले चासो नदिएपछि आफू एक्लैले होमस्टे खोलेको सञ्चालक राईले बताए। रासस


प्रकाशित : मंगलबार, भदौ ३ २०८२०९:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend