काठमाडौं- १७औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आजबाट सुरु हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयाजना हुने नाडा अटो शो पहिलो पटक प्रधानमन्त्रीले उद्घाटन गर्दै छन्।
मंगलबारदेखि सुरु भएर ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने अटो शो प्रधानमन्त्री केपी शर्मा ओलीले उघ्दाटन गर्ने तय भएको नाडाले जनाएको छ। यसअघि अर्थमन्त्री वा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले गर्दै आएका थिए। नाडा अध्यक्ष करण चौधरीको संयोजनमा पहिलो पटक अटो शो उद्घाटनमा प्रधानमन्त्री आउने तय भएको हो।
नाडा अटो शोमा उड्ने कारदेखि पुराना भिन्टेज कारसम्म देख्न पाइने छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोको यो संस्करणमा प्रविधि र भविष्यमुखी सवारी देख्न पाइने नाडाले जनाएको छ। नाडा अटो शोको औपचारिक उद्घाटन प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजेट गर्नेछन्।
अटो शो भव्य बनाउन ऐतिहासिक गाडीदेखि रोबोट, उड्ने कारसम्म प्रदर्शनी गरिने जानकारी नाडाले गराएको छ। यसका साथै १ दर्जन ऐतिहासिक गाडी (भिन्टेज कार) राखेर भिन्टेज मोटर शो पनि हुनेछ। अटो शोमा रोबोट, दिपलको उड्ने कारलगायत प्रविधि र फ्युचरिस्टिक मोबिलिटी अवलोकनकर्ताले देख्न पाउने नाडाले जनाएको छ।
नाडा अटो शोमा मोसिर माइनर, प्युजो, मिनी कुपर, टोयोटा आरटी, मर्सिडिज बेन्ज, टोयोटा कोरोलालगायत १२ वटा भिन्टेज गाडी प्रदर्शनमा राखिएका छन्।
अटो शोमा १९ चारपांग्रे, १३ लाइट कमर्सियल र ५ दुइपांग्रे सवारी ब्रान्डले सहभागिता जनाउने छन्। त्यस्तै ३५ भन्दाबढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने नाडाले जनाएको छ।
स्वदेशी उत्पादन भएका सवारीसाधन तथा स्पेयर पार्टसको लागि छुट्टै ‘मेड इन नेपाल पभिलियन’को व्यवस्था गरिएको नाडाको भनाइ छ। अटो शोमा मिडिया, ट्राफिक सूचना डेस्कसहित सबै कुरालाई व्यवस्थित बनाउने प्रयास भएको नाडाको भनाइ छ।
त्यस्तै अटो शोमा सवारीसाधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रमसमेत हुनेछन्।
नाडा अटो शो २०२५ को मुख्य प्रायोजक एमएडब्लू वृद्धि रहेको छ। एमएडब्लूले ल्याएको रोबोट र उड्ने कार नाडाको आकर्षणका रुपमा रहने अनुमान गरिएको छ। नाडाले यो वर्षको अटो शो यसअघिको भन्दा अझै आकर्षक, भविष्यमुखी र व्यवस्थित हुने बताएको छ।
