म्याग्दी- कोरोना महामारीका समयमा थलिएको म्याग्दीको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन।
कोरोना महामारी सुरु हुनुअघि २०७५ सालसम्म वार्षिक ७५ हजारभन्दा बढी विदेशी पर्यटक घुम्न आउने म्याग्दीमा हाल वार्षिक ३० हजारको हाराहारीमा मात्र पर्यटक आउने गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।
घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रिने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्यांक राख्ने गर्छन्। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलका अनुसार आव २०८१/८२ मा ३० हजार ८ सय ६५ जना पर्यटकले म्याग्दीका पर्यटकीयस्थलको अवलोकन गरेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार तीनसय ३४ र आव २०७९/८० मा २९ हजार तीनसय २८ तथा आव २०७८/७९ मा सात हजार नौसय २६ विदेशी पर्यटकले जिल्लाको भ्रमण गरेका थिए। छिमेकी जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने पर्यटकको अभिलेख भने राख्ने गरिएको छैन।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनी बजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन्।
म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका-६ मा रहेको घोडेपानी र पुनहिल क्षेत्र पर्ने गरेको छ। घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले पर्यटक आगमन अपेक्षाकृत नभएको बताइन्।
नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवर्द्धनको कमी, सडकका कारण पदमार्ग छोटिनु तथा भएका पर्यटकीयस्थलमा पूर्वाधारको विकास हुन नसक्दा देश र प्रदेशको अनुपातमा म्याग्दीमा पर्यटक आगमन वृद्धि हुन नसकेको उनको भनाइ छ।
आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एकसय ९१, आव २०७४/७५ मा ७४ हजार सातसय ३३, आव २०७३/७४ मा ६९ हजार ८ सय ३७ तथा आव २०७२/७३ मा ४३ हजार ६ सय ३२ विदेशी पर्यटकले म्याग्दीको भ्रमण गरेका थिए। रासस


