काठमाडौं- नेपाल पर्यटन बोर्डले भिडियो सामाजिक सञ्जाल प्लेटफर्म टिकटकमार्फत नेपालको पर्यटनले विश्वका ८० देशमा प्रवर्द्धन गर्ने भएको छ। यसका लागि बोर्ड र टिकटकको सिंगापुर कार्यालयबीच मंगलबार सम्झौता हुने भएको छ।
सम्झौतापछि बोर्डले उत्पादन गरेका प्रचारप्रसार सामग्री टिकटकमा लोड गर्नेछ भने टिकटकले उक्त सामग्रीलाई ८० देशमा ‘फिड’ पठाउने गरी सहयोग गर्नेछ। यसरी नेपालको पर्यटन विश्वभर प्रचारित हुने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले जानकारी दिए।
उनका अनुसार सम्झौता गरेबापत बोर्डले कुनै आर्थिक योगदान गर्नुपर्ने छैन। ‘टिकटक संसारभर चर्चित प्लेटफर्म भएकाले यसमार्फत नेपाल चिनाउन सकिन्छ भन्ने विश्वासका साथ सम्झौता गर्न लागिएको हो,’ सीईओ जोशीले भने।
सम्झौताका लागि टिकटकको सिंगापुर कार्यालयका प्रतिनिधि मंगलबार नेपाल आउने छन्। त्यसपछि काम औपचारिक रूपमा सुरु हुनेछ।
यस्तै आगामी नोभेम्बरमा टिकटकका ग्लोबल सीईओ शौ जी च्यु नेपाल आउने कार्यक्रम तय भएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत भेट्ने तय भइसकेको बोर्डले जनाएको छ।
टिकटकको ग्लोबल हेडक्वाटर अमेरिका (लस एञ्जलस) र सिंगापुरमा रहेको छ। मातृ कम्पनी बाइटडान्स भने चीनको बेइजिङमा रहेको हो।
नेपालमा टिकटकले आधिकारिक रूपमा दर्ता प्रक्रिया पूरा गरिसकेको छ। सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाअनुसार सरकारले दर्ता गर्न आग्रह गरेपछि टिकटकले नेपालमा आफ्नो प्रतिनिधित्व स्थापना गरेको हो।
यसअघि २०८० कात्तिक २७ गते अश्लीलता फैलाएको भन्दै सरकारले टिकटक बन्द गरेको थियो तर २०८१ भदौ ६ गते प्रतिबन्ध फुकुवा गरिएको थियो।
अहिले नेपालमा आधिकारिक रूपमा दर्ता भएपछि टिकटकबाट राजस्व संकलन गर्ने बाटोसमेत खुलेको छ। हाललाई नेपालसम्बन्धी गतिविधि सिंगापुरस्थित कार्यालयमार्फत व्यवस्थापन हुँदै आएको छ।


