बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जुन र जुलाईमा कति आयात भए कार, यस्तो छ ब्रान्डअनुसारको तथ्यांक

सोमबार, भदौ २ २०८२
जुन र जुलाईमा कति आयात भए कार, यस्तो छ ब्रान्डअनुसारको तथ्यांक

बजेटअघिको महिनामा उल्लेख्य संख्यामा विद्युतीय कार आयात भएकाले त्यसयताका दुई महिनामा विद्युतीय कारको तुलनामा आईसी इन्जिन कार आयात भएका छन्।

काठमाडौं- जेठ १५ मा बजेट आउनुअघि उल्लेख्य संख्यामा विद्युतीय कार आयात भएपछि त्यसपछिका दुई महिनामा कार आयात कम भएको छ। २०२४ जुन र जुलाई महिनामा विद्युतीय कारको आयात निकै कम भएको हो।

यसअघिका महिनाहरुमा विद्युतीय कार आयातकै बोलवाला रहँदै आएकोमा बजेटपछिको दुई महिनामा धेरै आयात हुने कारमा आईसी (इन्टरनल कम्बस्चन) इन्जिन कार नै धेरै देखिएको छ।

जेठ १५ मा आएको चालु आर्थिक वर्ष २०८२/८३ बजेटमा विद्युतीय कारको कर वृद्धि हुने हल्लाका कारण सबै विद्युतीय कार आयातकर्ताहरुले ठूलो संख्यामा कार आयात गरे। तर बजेटले गत आर्थिक वर्षकै कर कायम हुने नीति लियो।

यसअघि आयात भएका कार बिक्री हुृने क्रममै रहेकाले पनि धेरै विद्युतीय कार आयात हुन सकिरहेको छैन। यसको प्रत्यक्ष प्रभाव मासिक रुपमा हुने कार आयातमै देखिएको हो। 

२०२५ को मे महिनामा ४ हजार ६ सय ९६ वटा कार आयात भएको थियो। यसमा विद्युतीय र आईसी इन्जिन दुवै समावेश थियो। बजेटलगत्तैको अर्को महिना २०२५ जुनमा जम्मा ३ सय २५ वटा कार आयात तथ्यांक छ। त्यसपछिको जुलाई महिनामा भने कार आयात केही बढेर ४ सय ४२ वटा कार आयात भएको भन्सारको तथ्यांक छ।

बजेटअघिको महिनामा उल्लेख्य संख्यामा विद्युतीय कार आयात भएकाले त्यसयताका दुई महिनामा विद्युतीय कारको तुलनामा आईसी इन्जिन कार आयात भएका छन्। 

जुन महिनामा सबैभन्दा धेरै महिन्द्रा र सुजुकीको कार आयात भएको छ। यी दुवै कम्पनीले उक्त महिना ६७/६७ वटा कार आयात गरेको भन्सारको तथ्यांक छ। 

यता जुलाई महिनामा पनि सबैभन्दा धेरै महिन्द्राका कार तथा एसयूभी आयात भएका छन्। महिन्द्राका प्यासेन्जर सेमेन्टलाई पनि यहाँ प्यासेन्जर कारमै वर्गीकरण गरिएको छ। साथै हुन्डाईले आयात गरेको तयारी कारमात्र यहाँ उल्लेख गरिएको छ। अहिलेले हुन्डाईले तयारी कारभन्दा बढी एसेम्बलका लागि सीकेडी आयात गर्दै आएको छ। 

जुलाईमा महिन्द्राका ९७ वटा, सुजुकीका ७७ वटा, टाटाका ६४ वटा, टोयोटाका ३७ वटा, कियाका ३६ वटा, निसानका २३ वटा र हुन्डाईका २१ वटा तयारी कार आयात भएको तथ्यांक छ। 

जुन महिनामा आयात भएको ब्रान्डअनुसारको तथ्यांक : 

brand.jpg

जुलाई महिनामा आयात भएको ब्रान्डअनुसारको तथ्यांक : 

brand 2.jpg
जुलाईमा कुल ४ सय ४२ वटा प्यासेन्जर कार नेपाल भित्रिएको हो। 


प्रकाशित : सोमबार, भदौ २ २०८२११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend