बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विद्युत चुहावट घट्यो, ५७ लाख नाघ्यो ग्राहक संख्या

आइतबार, भदौ १ २०८२
विद्युत चुहावट घट्यो, ५७ लाख नाघ्यो ग्राहक संख्या

आधारभूत पूर्वाधार विस्तारमा पनि उल्लेख्य प्रगति भएको प्राधिकरणले जनाएको छ। गतवर्ष मात्र ४३४ मेगावाट विद्युत प्रणालीमा थपिएको छ।

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ६ करोड ७० लाख रूपैयाँ नाफा आर्जन गरेको छ।

प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा आव २०८१/८२ को प्रतिवेदन सार्वजनिक गर्दै करअघिको नाफा ९ अर्ब ६ करोड बढी रहेको जनाएको हो। यस्तै, कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रूपैयाँ र कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रूपैयाँ रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको प्रतिवेदनअनुसार विद्युत चुहावट घटेर १२.२६ प्रतिशत कायम भएको छ भने वितरण प्रणालीमा विश्वसनीयता बढाउन एसएआईएफआई र एसएआईडीआई सूचकांकको प्रारम्भ गरिएको छ। यस्तै, विद्युत पहुँच देशभर करिब ९८ प्रतिशत पुगेको छ भने ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको प्राधिकरणले जनाएको छ।

हालसम्म राष्ट्रिय विद्युत प्रणालीको कुल स्थापित क्षमता ३५९१ मेगावाट पुगेको छ। यसमा स्वतन्त्र विद्युत उत्पादक (आईपीपी) हरूको योगदान ५५ प्रतिशत, प्राधिकरण तथा सहायक कम्पनीहरूको योगदान ३४ प्रतिशत र भारतबाट आयात हुने विद्युत ११ प्रतिशत रहेको छ।

आधारभूत पूर्वाधार विस्तारमा पनि उल्लेख्य प्रगति भएको प्राधिकरणले जनाएको छ। गतवर्ष मात्र ४३४ मेगावाट विद्युत प्रणालीमा थपिएको छ। प्रसारणलाइन २५३ सर्किट किलोमिटरले वृद्धि भइ कुल लम्बाइ ६,७६० सर्किट किलोमिटर पुगेको छ भने वितरण प्रणालीमा ९,३३६ सर्किट किलोमिटर लाइन थपिएको छ।

विद्युत व्यापारमा पनि ऐतिहासिक सफलता मिलेको प्राधिकरणले दाबी गरेको छ। नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय समझदारीपछि नेपालबाट पहिलोपटक ४० मेगावाट विद्युत बंगलादेश निर्यात गरिएको छ। हालसम्म भारततर्फ निर्यात गर्न ३० वटा जलविद्युत आयोजना अनुमोदन भइसकेको र कुल १,०१० मेगावाट निर्यात क्षमताको स्वीकृति पाएको जनाएको छ।

भविष्यका योजनामा प्राधिकरणले दूधकोशी, उत्तरगंगा, माथिल्लो अरुण, तल्लो सेती, चैनपुर सेती लगायतका ठूला जलाशययुक्त आयोजना निर्माणलाई तीव्रता दिने जनाएको छ। यस्तै, काठमाडौं उपत्यकासहित प्रमुख सहरहरूमा प्रसारण प्रणाली मजबुत पार्ने, सबै नागरिकको घरमा पूर्ण विद्युतीकरण गर्ने र सन् २०५० सम्मको विद्युत माग सम्बोधन गर्ने दीर्घकालीन रणनीति प्रस्तुत गरिएको छ।

प्राधिकरणले दिगो ऊर्जा, डिजिटल प्रविधि विस्तार, ग्राहक सेवामा सुधार र निजी क्षेत्रसँग सहकार्यलाई आगामी कार्यदिशाको केन्द्रबिन्दु बनाउने घोषणा गरेको छ।


प्रकाशित : आइतबार, भदौ १ २०८२१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend