काठमाडौं- फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको रुपान्तरणपश्चात पहिलो वार्षिक साधारणसभा शुक्रबार (श्रावण ३० गते) काठमाडौंको डिडिआई बैंक्वेट, बुद्धनगरमा सम्पन्न भएको छ।
सभामा भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ फेदीखोला (थुमलुङ) मा निर्माणाधीन ४.३ मेगावाट क्षमताको आयोजनालाई वि.सं. २०८२ साल पौष अन्त्यसम्ममा सम्पन्न गर्ने योजना प्रस्तुत गरिएको छ।
कम्पनीले आयोजनाको लागत प्रारम्भिक अनुमान अनुसार ९४ करोड रुपैयाँ रहेकोमा २०८१ साल श्रावण १५ गतेको बाढीका कारण ४ करोडले लागत बढेर कुल ९८ करोड रुपैयाँ पुगेको जानकारी दिएको छ। सो लागतमध्ये ४९ प्रतिशत (४८ करोड) स्वपूँजीबाट र बाँकी ५१ प्रतिशत (५० करोड) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणमार्फत जुटाइएको कम्पनीले जनाएको छ।
सभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँबाट बढाएर ७० करोड रुपैयाँ पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ बराबरको सर्वसाधारण सेयर निस्काशन गर्ने निर्णय गरेको छ । उक्त कार्यान्वयनका लागि सञ्चालक समितिलाई पूर्ण अधिकार प्रदान गरिएको छ।
यसैगरी, सभाले वन्डर्स इनर्जी प्रा.लि. (खिम्ती घ्वाङ खोला जलविद्युत आयोजना, ९ मेगावाट) मा ५ करोड लगानी गर्ने प्रतिबद्धता सहित १ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। त्यस्तै इस्टर्न इनर्जी प्रा.लि. (ईर्खुवा खोला जलविद्युत आयोजना, १५ मेगावाट) मा १५ करोड लगानी गर्ने प्रतिबद्धता सहित २ करोड ५० लाख लगानी स्वीकृत गर्दै आगामी दिनमा थप लगानी गर्ने निर्णय पनि गरिएको छ। कम्पनीले दीर्घकालीन लक्ष्यअनुसार वि.सं. २०९० भित्रमा कम्तीमा १०० मेगावाट क्षमताका आयोजना अघि बढाउने रणनीति सार्वजनिक गरेको छ।
साथै, कम्पनीको नियमावलीअनुसार सञ्चालक समिति पाँच सदस्यीय हुने प्रावधान बमोजिम आगामी चार वर्षका लागि संस्थापक ‘क’ समूहबाट चन्द्र प्रसाद वास्तोला, प्रकाश चन्द्र दुलाल र कविता अधिकारीलाई सञ्चालकमा निर्वाचित गरिएको कम्पनीले जानकारी दिएको छ।
