काठमाडौं- विश्वभर सवारीसाधनको माग तथा उत्पादन बढ्दै गइरहेको छ। मोबिलिटीको सबैभन्दा सजिलो र सस्तोमध्येको साधनका रुपमा रहेको सडक यातायातमा कार तथा ठूला कमर्सियल सवारी विश्वभर नै प्रयोग हुँदै आएको छ।
विश्वका सबै देशले सवारीसाधन बनाउँदैनन्। त्यस्तो देशमा नेपाल पनि पर्छ। नेपालले केही वर्षयता मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरु गरेको छ भने डेढ वर्षयता एउटा कम्पनीले कार एसेम्बल गर्दै आएको छ। एसेम्बल किटदेखि तयारी सवारी आयात गरेर नेपालको मोबिलिटी चल्दै आएको छ।
सवारी उत्पादन गर्ने देशले आयात पनि गर्छन्। संसारभर सवारीसाधनको ठूलो बजार रहेको छ। विश्वको सबैभन्दा ठूलो सवारी बजार चीन हो भने धेरै उत्पादन गर्ने देशको सूचीको अग्रस्थानमा पनि चीन नै छ।
२०२४ मा विश्वभर कुन देशले कति सवारी उत्पादन गरे भन्नेबारे भिजुअल क्यापिटालिस्टले तथ्यांकबारे उल्लेख गरेको छ। क्यापिटालिस्टले इन्टरनेसनल अर्गनाइजेसन अफ मोटर भेहिकल म्यानुफ्याक्चरर्स (ओआईसीए)को तथ्यांकअनुसार ग्राफिक्स तयार पारेको छ।
२०२४ मा विश्वभर ९ करोड २० लाख वटाभन्दा बढी सवारीसाधन उत्पादन भएका हुन्। चीन, अमेरिका र जापानमा मात्रै विश्वभर बनेका कुल सवारीमध्ये ५४ प्रतिशत यी तीन देशमा बनेका हुन्। सवारी उत्पादनमा उदियमान देश भारत, मेक्सिको र ब्राजिलले उल्पादन संख्या वार्षिक रुपमा बढाउँदै लगेका छन्।
प्रमुख तीन
चीनले २०२४ मा ३ करोड १२ लाख ८१ हजार ५ सय ९२ वटा सवारीसाधन उत्पादन गरेको थियो। चीनले गत वर्ष उत्पादन गरेको यो सवारी संख्या अमेरिका र जापान दुवैले उत्पादन गरेको भन्दा पनि धेरै हो।
चीनमा यतिधेरै सवारीसाधन उत्पादन हुनुको मुख्यकारण बढ्दो आन्तरिक माग, तीव्र गतिमा रहेको विद्युतीय सवारीको स्वीकार्यता र बढ्दो निर्यात सञ्जाललाई लिइएको छ।
चीनपछिको धेरै सवारी उत्पादन गर्ने मुलुकमा अमेरिका दोस्रो र जापान तेस्रो स्थानमा रहेका छन्। तर २०२३ को तुलनामा २०२४ मा अमेरिका र जापान दुवै देशको सवारी उत्पादन दरमा ह्रास आएको हो। अमेरिकाले २०२४ मा १ करोड ५ लाख ६२ हजार १ सय ८८ वटा सवारीसाधन उत्पादन गरेको थियो। त्यस्तै जापानले २०२४ मा ८२ लाख ३४ हजार ६ सय ८१ वटा सवारीसाधन उत्पादन गरेको थियो।
चीनमा कमर्सियल सवारीको तुलनामा कारको उत्पादन उल्लेख्य रहेको छ। २०२४ मा उत्पादन भएको ३ करोड १२ लाख सवारीमध्ये २ करोड ७५ लाख वटा प्यासेन्जर कार थिए भने ३८ लाख वटा कमर्सियल सवारी थिए।
यता अमेरिकामा उत्पादन भएका १ करोड ५ लाख कुल सवारीमध्ये ९१ लाख वटा कमर्सियल सवारी थिए भने १४ लाख वटामात्र प्यासेन्जर कार थिए। अमेरिकामा पिकअप ट्रकलाई कमर्सियल क्याटागोरीमा राखिने गरेको छ।
उदियमा अर्थतन्त्रको रुपमा रहेको मेक्सिको, भारत, ब्राजिललगायत देशहरु पछिल्लो समय सवारी उत्पादनको हबका रुपमा विकसित हुँदै छन्। मासमार्केटदेखि प्रिमियम सवारी उत्पादकसम्मले यी बजारमा आँखा लगाएका छन्।
यी हुन् २०२४ मा धेरै सवारी उत्पादन गर्ने देश र संख्या :
चीन- ३ करोड १२ लाख ८१ हजार छ सय ९२
अमेरिका- १ करोड ५ लाख ६२ हजार १ सय ८८
जापान- ८२ लाख ३४ हजार ६ सय ८१
भारत- ६० लाख १४ हजार ६ सय ९१
मेक्सिको- ४२ लाख २ हजार ६ सय ४२
दक्षिण कोरिया- ४१ लाख २७ हजार २ सय ५२
जर्मनी- ४० लाख ६९ हजार २ सय २२
ब्राजिल- २५ लाख ४९ हजार ५ सय ९५
स्पेन- २३ लाख ७६ हजार ५ सय ४
थाइल्यान्ड- १४ लाख ६८ हजार ९ सय ९७
चेक रिपब्लिक- १४ लाख ५८ हजार ८ सय ९२
टर्की- १३ लाख ६५ हजार २ सय ९६
क्यानडा- १३ लाख ४२ हजार ६ सय ४७
इन्डोनेसिया- ११ लाख ९६ हजार ६ सय ६४
स्लोभाकिया- ९ लाख ९३ हजार
रुस- ९ लाख ८२ हजार ६ सय ६५
फ्रान्स- ९ लाख १० हजार २ सय ४३
बेलाय- ९ लाख ५ हजार २ सय ३३
मलेसिया- ७ लाख ९० हजार ३ सय ४७
दक्षिण अफ्रिका- ५ लाख ९९ हजार ७ सय ५५
इटाली- ५ लाख ९१ हजार ६७
रोमानिया- ५ लाख ६० हजार १ सय २
मोरक्को- ५ लाख ५९ हजार ६ सय ४५
पोल्यान्ड- ५ लाख ५५ हजार ३ सय ४६
अर्जेन्टिना- ५ लाख ६ हजार ५ सय ७१
हंगेरी- ४ लाख ३७ हजार ४५
उज्वेकस्तान- ४ लाख २९ हजार ३ सय ६४
पोर्चुगल- ३ लाख ३२ हजार ५ सय ४६
ताइवान- २ लाख ७५ हजार १ सय ५६
बेल्जियम- २ लाख ४० हजार ३ सय ६६
काजाकस्तान- १ लाख ४४ हजार ६ सय २४
अस्ट्रिया- ७१ हजार ७ सय ८५
स्लोभानिया- ६० हजार ९ सय ३
फिनल्यान्ड- २२ हजार ३ सय ८४
अन्य- २२ लाख ८५ हजार ३ सय २८
कुल ९ करोड २५ लाख ४ हजार ३ सय ३८
