बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टाइगर प्यालेस किन्‍न तम्सिएका भुसाल आफैले बनाउँदैछन् पाँचतारे होटल 

बिहीबार , फागुन १२ २०७८
टाइगर प्यालेस किन्‍न तम्सिएका भुसाल आफैले बनाउँदैछन् पाँचतारे होटल 

यो होटल भने अन्तर्राष्ट्रिय चेन  होटलको व्यवस्थापन आउने छ। कुन चेन ल्याउने भनेर अहिलेसम्म टुंगो नलागेको उनले जानकारी दिए। 

काठमाडौं- भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएको छ। २०७९ सालको सुरूवातदेखि नै व्यावसायिक उडान गर्ने तयारी सरकारको छ। 

सरकारले विमानस्थलको तयारी गरिरहँदा निजी क्षेत्रको लगानी पनि उक्त क्षेत्रमा बढिरहेको छ। विमानस्थल निर्माण भइरहँदा नै विशेषगरी होटलमा ठूलो लगानी भएको बुटवल-भैरहवा क्षेत्रमा नयाँ परियोजना अघि बढेका छन्। 

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रित गरेर पर्यटन प्रबर्द्धन गर्ने र त्यसका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई उपयोग गर्ने सरकारको नीति छ। यही मौकामा निजी क्षेत्रका व्यवसायीहरूले यसअघि नै त्यहाँ ठूला होटल परियोजना अघि बढाएका छन्। 

टाइगर प्यालेस जस्ता लक्जरी होटल यसअघि नै सञ्चालनमा आइसकेका छन् भने सिद्धार्थ होटल निर्माणाधीन छ। ठूला होटल परियोजनामा लगानी गर्नेमा व्यवसायी बालकृष्ण भुसाल पनि अघि सरेका छन्। 

यसअघि टाइगर प्यालेस रिसोर्ट खरिदका लागि अघि बढेका भुसालले आफैले बुटवल-भैरहवा क्षेत्रमा होटल निर्माण गरिरहेका छन्। भुसालले चारतारेदेखि पाँचतारेसम्मका होटल परियोजना अघि बढाएका छन्। 

यसअघि व्यवसायी सीपी श्रेष्ठको समूहले नान्स टु नामको होटल परियोजना अघि बढाएको थियो। ठूलो होटल बनाउने भन्दै यो समूहले अघि बढाएको यो परियोजना भुसालले खरिद गरेर पाँचतारे स्तरको होटल निर्माण गरिरहेका छन्। 

११७ कोठा हुनेगरि होटलको भौतिक संरचना निर्माण भइरहेको भुसालले जानकारी दिए। श्रेष्ठ समूहबाट भुसालले जग्गाको भाउमा मात्र खरिद गरेका थिए। अहिले भने जग्गा बाहेक झन्डै १ अर्ब लगानीमा पाँच तारे होटल निर्माण गरिरहेका छन्। 

यो होटल भने अन्तर्राष्ट्रिय चेन  होटलको व्यवस्थापन आउने छ। कुन चेन ल्याउने भनेर अहिलेसम्म टुंगो नलागेको उनले जानकारी दिए। 

'हामीले चेनका लागि २/३ वटासँग प्रस्ताव गरेका छौँ। फाइनल कसैसँग भएको छैन' उनले भने।

म्यारियट, र्‍याडिसन लगायतका चेनसँग कुरा भइरहेको छ। यीमध्ये कुनै एकको ब्रान्ड आउने छ। भैरहवामा अहिले टाइगर प्यालेस आफ्नै व्यवस्थापन सञ्चालन भइरहेको छ। ठूला अन्तर्राष्ट्रिय चेनमा अरु होटल सञ्चालनमा छैनन्। 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि धेरै खर्च गर्ने र 'हाइ-इन्ड' पर्यटकलाई सेवा दिनका लागि पनि अन्तर्राष्ट्रिय चेनसँग सहकार्य गर्न खोजिएको उनले जानकारी दिए। 

उद्योग व्यापारबाट उदाएको भुसाल समूहले मेघा लुम्बिनी नामबाट अरु होटल सञ्चालन गरिरहेको छ। बुटवल क्षेत्रमा मेघा लुम्बनी नामबाट सम्भावना हेरेर होटल रिसोर्ट विस्तार गर्ने योजनामा भुसाल समूह रहेको छ। 


प्रकाशित : बिहीबार , फागुन १२ २०७८०३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend