काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी प्रदेश र लुम्बिनीमा अप्टिकल फाइबर बिच्छ्याउने जिम्मेवारी पनि नेपाल टेलिकमलाई दिएको छ। २०७४ सालमा यूटीएलले पाएर अलपत्र परेको यो खण्डको काम पनि नेपाल टेलिकमले पाएको हो।
ग्रामीण दूरसञ्चार विकास कोषको रकमबाट गण्डकी प्रदेश र लुम्बिनी प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व-पश्चिम राजमार्ग तथा उत्तर-दक्षिण राजमार्गमा अप्टिकल फाइबर नेटवर्क मार्फत सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्ने आयोजनाका लागि आज प्राधिकरण र टेलिकमबीच सम्झौता भएको हो।
समझदारी पत्रमा हस्ताक्षर भएको मितिबाट लागू हुने गरी ९० दिनभित्र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले बिस्तृत आयोजना प्रतिवेदन तयार पारेर १२० दिनभित्र आयोजना कार्यान्वयनको अर्को सम्झौता हुनेछ।
१ हजार ९०० किलोमिटर लम्बाईको नयाँ अप्टिकल फाइवर नेटवर्क निर्माण तथा सञ्चालन हुनेछ। सेवा प्रदायकहरुबीच उक्त पूर्वाधारको सहप्रयोग समेत हुने गरी सूचना महामार्ग सञ्चालन हुनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका १९४ स्थानीय पालिकामा उच्च क्षमताको सूचना महामार्ग निर्माण भई डिजिटल खाडलकम हुने तथा सर्वसुलभ र भरपर्दो रुपमा दूरसञ्चार एवं सूचना प्रविधि सेवा उपलब्ध हुने विश्वास प्राधिकरणको छ।
२०७६ सालमै निर्माण हुनुपर्ने यो आयोजना यूटीएलले लिएर अलपत्र पारेको थियो। मिति गुज्रिएपछि खारेज गर्न खोजिएपनि अदालतको आदेश ल्याएर लामो समयसम्म बिलम्ब भएको थियो। तर गत वर्ष अदालतले युटीएलको रिट खारेज गरेपछि प्राधिकरणलाई नयाँ प्रक्रिया सुरू गर्ने बाटो खुलेको थियो।
