काठमाडौं- चर्चित पर्यटकीय गन्तव्य नगरकोटले आफ्नो परम्परागत छविलाई नयाँ ढंगले प्रस्तुत गर्दै रि-ब्रान्डिङ अभियान अघि बढाएको छ। अब नगरकोट केवल हिमाल हेर्ने ठाउँमात्र नभइ सुर्योदय-सूर्यास्त र हिमालसहितको अनुभावात्मक गन्तव्यका रूपमा स्थापित हुँदै छ।
नगरकोट जानेहरूको मुख्य आकर्षण प्रायः सूर्योदय-सूर्यास्त र लहरै देखिने हिमशृंखलाको रमणीय दृश्य हुने गर्छ। सगरमाथासहितको हिमालको मनोरम दृश्य र सूर्यको उदय तथा अस्त नगरकोटको ब्रान्ड बनेको इतिहास लामो छ। तर नगरकोटको पर्यटन ब्रान्ड केवल यी दृश्यहरूसम्म सीमित नराखी अन्य विविध गतिविधिहरूलाई पनि समेट्ने प्रयास अहिले व्यवसायीहरूले सुरु गरेका छन्।
नगरकोटको रि-ब्रान्डिङले केवल दृश्यात्मक आकर्षण मात्र होइन, समग्र पर्यटन अनुभव प्रस्तुत गर्ने दिशामा ध्यान केन्द्रित गरेको छ।
सूर्योदय-सूर्यास्त र हिमाल हेर्ने परम्परागत आकर्षणका साथै नयाँ गतिविधिहरूको समावेशीकरणले नगरकोटलाई बहुआयामिक पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास हो। यो अभियानले निजी क्षेत्र र स्थानीय सरकारको साझेदारीमा सफल गन्तव्य प्रवर्द्धनको नमूना प्रस्तुत गर्ने दाबीसमेत गरिएको छ।
नगरकोटमा रहेको पाँच प्रमुख होटेल-क्लब हिमालय, कन्ट्री भिल्ला, मिस्टिक माउन्टेन, काव्या हिमालय र सोल्टी वेस्टएन्ड रिसोर्ट-ले ‘बियोन्ड द सनसाइज, सनसेट एन्ड हिमालयज्’ भन्ने अभियानअन्तर्गत नगरकोटको रि-ब्रान्डिङका लागि संयुक्त रूपमा प्रवर्द्धनात्मक भिडियो तयार पारेका छन्। यो भिडियोमा नगरकोटका परम्परागत रमणीय दृश्यका साथै अन्य पर्यटन गतिविधिहरूको समग्र झलक देखाइएको छ।
किन रि-ब्रान्डिङ?
व्यवसायीहरूका अनुसार, नगरकोट केवल सूर्योदय-सूर्यास्त र हिमाल हेर्नको लागि मात्र सीमित छैन। रि-ब्रान्डिङको क्रममा पाँच होटेलले नगरकोटमा उपलब्ध अन्य गतिविधि र आकर्षणहरूको पनि पहिचान गरेका छन्।
यी गतिविधि समावेश छन्
महादेव पोखरी भ्रमण
मञ्जुश्री गुफा अवलोकन
नगरकोट भ्यु टावर
रानीझुला र बुद्ध पिस पार्क
वर्ड वाच र प्रकृति ट्रेल
साइक्लिङ रेस
बिहानीपख लाग्ने हाटबजार
नगरकोट एटीभी ट्रेल
करीब एक दर्जन पर्यटकीय गतिविधिको सम्भावना रहेको यो क्षेत्रमा प्रचार-प्रसार गरेर, व्यवसायीहरूले नगरकोटको पर्यटन पहिचानमात्र सीमित नगरी समग्र अनुभव प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।
क्लब हिमालयका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले भने, 'नगरकोटको रि-ब्रान्डिङको समय भइसकेको छ। सूर्यको उदय-अस्त र हिमाल मात्रै होइन, यहाँका अन्य गतिविधिलाई पनि उत्तिकै उजागर गर्नुपर्छ।'
भक्तपुरको नगरकोटमा हाल १ सयभन्दा बढी होटल सञ्चालनमा छन्। तर, व्यवसायीहरूको भनाइ अनुसार, होटलको संख्या र क्षमता त बढेको छ, तर पर्यटकलाई उपलब्ध गराइने गतिविधि र अनुभवहरू सीमित भएका कारण नगरकोटको वास्तविक सम्भावना प्रकट हुन सकेको छैन।
यसै पृष्ठभूमिमा, पाँच होटेलले एकजुट भएर भिडियो निर्माण गरेका हुन्। निर्माण गरिएको भिडियो नेपाल पर्यटन बोर्ड र सम्बद्ध नगरपालिका समक्ष प्रस्तुत गरिएको छ।
बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा भिडियो बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइबा, शंखरापुर नगरपालिका, चागुँनारायण र बनेपा नगरपालिकाका जनप्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको थियो।
सीईओ दीपकराज जोशीले निजी क्षेत्रको लगानीमा नमूना गन्तव्यको सिर्जना भएको उदाहरण नगरकोट रहेको बताए। उनले भने, 'नगरकोटमा गुणस्तरीय अकोमोडेशन सुविधा उपलब्ध छ। अब पर्यटक भुलाउने गतिविधिहरू थप्न आवश्यक छ र त्यसमा काम गर्नुपर्छ।'
नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरू छुट्टी मनाउन, विभिन्न सभा, सेमिनार र गोष्ठीका लागि आउने गरेका छन्। काठमाडौँसँग नजिक रहेको हरित हिलस्टेशन नगरकोटमा विदेशी पर्यटकहरूको आगमन पनि उल्लेखनीय छ।
सोल्टी वेस्टएन्ड रिसोर्टका महाप्रबन्धक विश्वदेव ढुंगेलले भने, 'होटेल सेवा प्रतिस्पर्धी भए पनि गन्तव्य प्रवर्द्धनका लागि हामी एक ठाउँमा उभियौँ। नगरकोटमा थप गतिविधि छन् र त्यसको प्रवर्द्धनका लागि मिलेर काम गरिरहेका छौँ।'
मण्डनदेउपुर नगरपालिकाका मेयरले भने, 'भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिका मिलेर नगरकोट एक संगम गन्तव्य बनेको छ। यसको प्रवर्द्धनका लागि हामी सधैँ सहयोग गर्छौं।' उनले यसैगरी बैशाख १ गते ‘नगरकोट भ्रमण वर्ष-२०८२’ घोषणा गरिसकेको र यस अवधिभर होटेलहरूले नगरकोटका विविध गतिविधि सम्बन्धी जानकारी प्रवर्द्धन गरेको उल्लेख गरे।


