काठमाडौं- एक शताब्तीसम्म विश्व बजारको फोटोग्राफी तथा फिल्म प्रविधिमा राज गरेको अमेरिकी कम्पनी फेरि संकटको संघारमा पुगेको छ। दशकअघि नै आर्थिक रुपमा कंगालीको नजिक पुगेर पुनर्जीवन पाउन सफल यो कम्पनी अहिले फेरि अर्को संकटमा पुगेको हो।
क्यामेरा, रिल जस्ता उत्पादनमा विश्वमा राज गरेको यो कम्पनी आफैले ल्याएको प्रविधिको सिकार भएर सन् २०१० को दशकको सुरुवातमै संकटमा पुगेको थियो। फोटोग्राफीको पायोनियर कम्पनीले त्यसपछि औषधि उत्पादनमा हात हालेको थियो।
औषधि उत्पादनबाट आएको आम्दानीबाट पनि पछिल्लो समयको ट्यारिफ रिजिममा लामो समय निरन्तरता पाउनेमा चिन्ता व्यक्त गरिएको छ। कम्पनी आफैले फाइलिङ गरेको प्रतिवेदनमा यस्तो चेतावनी दिइएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
आजभन्दा २५ वर्ष पहिलेसम्म संसारका धेरै सहरी केन्द्रका गल्लीमा झुन्डिने कोडाकको बोर्ड अहिले धेरेतिर हराइसकेको छ। यद्यपि यसको औचित्य भने कायम छ। तर अब यही विरासतको भविष्यमा प्रश्न उठेको छ। सोमबार कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा आगामी दिनमा तिर्नुपर्ने करिब ५० करोड ऋण दायित्व भुक्तानीको स्रोतको ग्यारेन्टी नभएको उल्लेख गरिएको छ।
ऋण दायित्व भुक्तानीको क्षमता गुम्दै गएको यो घोषणाले देखाएको छ। क्यामेरा, मसी, रिलजस्ता धेरै उत्पादन ट्यारिफका कारण अमेरिकामा मात्र उत्पादन हुने भएका छन्। यही कारण पनि उत्पादन लागत बढ्न गइ भएकै बजार पनि प्रभावित हुने देखिएको छ।

ईस्टम्यान कोडक नामको यो कम्पनीको उदय, उत्थान र पतनको रोचक कथा छ।
सन् १८७९ मा जर्ज ईस्टम्यानले स्थापना गरेको यो कम्पनीले प्लेट-कोटिङ मेसिनको प्याटेन्ट पाएको थियो। त्यसपछि कम्पनीले सन् १८८८ मा पहिलो कोडाक क्यामेरा बिक्री गरेको थियो।
सुरुवातमा कोडकले प्रविधिमा क्रान्ति गरेको थियो। अतिरिक्त कौशल चाहिने भएकाले सर्वसाधारणको पहुँचबाहिर रहेको क्यामेरालाई कोडाकले नै लोकप्रिय बनाएको थियो। सन् १९३८ मा पहिलो उन्नत फिल्म क्यामेरा बनाएको कोडाकले सन् १९७५ मा डिजिटल क्यामेरा बनाएको थियो। त्यस्तो समयमा कोडाकले यो क्यामेरा ल्याएको थियो जतिबेला उसले आफ्नै उत्पादनको लोकप्रियताले अमेरिकी बजारमा एकछत्र राज गरेको थियो।
संसारभर लोकप्रिय यसका उत्पादनले तहल्का मच्चाएका थिए। क्यामेरा र रिल प्रविधिमा एकपछि अर्को आविष्कार गर्दै कोडाकले सन् १९७५ मा जुन डिजिटल क्यामेरा ल्यायो त्यही उत्पादन र आविष्कारले यसको ओरालो यात्रा सुरू भयो।
डिजिटल क्यामेराले फोटोग्राफीमा सीमित कम्पनीको इकोसिस्टमको व्यापार खस्कियो र नयाँ खेलाडीको जन्म भयो। त्योसँगै कोडाकको व्यापार पनि खस्कियो अन्तत: सन् २०१२ मा यो कंगाल बन्यो। त्यसपछि औषधि उत्पादनमा हात हालेर वित्तीय अवस्थामा निरन्तर सुधार गर्दै अघि बढेको कोडाक फेरि अर्को संकटमा फसेको छ।
कोडाकले फोटोग्राफिसँगै चलचित्र उद्योगसहित विभिन्न व्यवसायका लागि फिल्म र रसायन उत्पादन गर्छ र उपभोक्ता सामानका लागि आफ्नो ब्रान्डको लाइसेन्स दिन्छ।
