शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रभावकारी पहल आवश्यक : महासंघ अध्यक्ष ढकाल

सोमबार, साउन २६ २०८२
नेपालगन्ज–दिल्ली सिधा उडानका लागि प्रभावकारी पहल आवश्यक : महासंघ अध्यक्ष ढकाल

सोमबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा महासंघको सहकार्यमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा उनले सिधा उडान सञ्चालन हुन सके पश्चिम नेपालको पर्यटन, कृषि र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य संघ बाँकेको आयोजना तथा महासंघको सहकार्यमा आयोजित सर्वपक्षीय छलफल कार्यक्रममा उनले सिधा उडान सञ्चालन हुन सके पश्चिम नेपालको पर्यटन, कृषि र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए।

ढकालका अनुसार नेपालगन्ज–दिल्ली उडानले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकाससँग प्रत्यक्ष सम्बन्ध राख्नेछ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस एजेन्डालाई प्राथमिकताका साथ उठाउन महासंघले आग्रह गर्ने जानकारी दिए।

अध्यक्ष ढकालले नेपालगन्जलाई पश्चिम नेपालको प्रवेशद्वारका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै सीमा नजिक भएकाले विवाह तथा अन्य कार्यक्रम (इभेन्ट र वेडिङ) का लागि पनि यसको ठूलो सम्भावना रहेको बताए। उनले बनेका विमानस्थलहरूलाई प्रभावकारी सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।

देशको आर्थिक विकासका लागि निजी क्षेत्रले ठूलो लगानी गरिसकेको उल्लेख गर्दै ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि महासंघको पहलमा ३० भन्दा बढी कानुन संशोधन भएको जानकारी दिए। साथै, आन्तरिक पूँजीबाट पनि पूर्वाधार विकास गर्न सकिने विश्वास व्यक्त गर्दै उनले १० अर्ब रुपैयाँ पूँजीको नेपाल पब्लिक लिमिटेड कम्पनी स्थापना गरी काम सुरु भइसकेको बताए।

कार्यक्रममा पूर्वमन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पर्यटन व्यवसायी, पत्रकार र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

 


प्रकाशित : सोमबार, साउन २६ २०८२०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend