शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडानमा यात्रु, पर्यटन, ल्याण्डिङसहितका शुल्कमा व्यापक छुट

आइतबार, साउन २५ २०८२
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय उडानमा यात्रु, पर्यटन, ल्याण्डिङसहितका शुल्कमा व्यापक छुट

नेपाल सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने अन्तर्राष्ट्रिय हवाई उडानलाई प्रोत्साहन गर्न व्यापक शुल्क छुट दिने निर्णय गरेको छ।

काठमाडौं- नेपाल सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने अन्तर्राष्ट्रिय हवाई उडानलाई प्रोत्साहन गर्न व्यापक शुल्क छुट दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को २०८१ साउन २८ गतेको निर्णयअनुसार स्वीकृत 'नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्ययोजना' अन्तर्गत लागू हुने यो व्यवस्था २०८३ भदौ मसान्तसम्म कायम रहनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहप्रवक्ता गोकर्ण प्रसाद उपाध्यायका अनुसार सरकारले यात्रु सेवा शुल्क, पार्किङ, ल्याण्डिङ, न्याभिगेसन शुल्क, पर्यटन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ठूलो परिमाणमा छुट दिने व्यवस्था गरेको छ।

यसअन्तर्गत अन्तर्राष्ट्रिय हवाई टिकटमा लागू हुने ३ हजार रुपैयाँ बराबरको यात्रु सेवा शुल्क र एक हजार रुपैयाँ बराबरको पर्यटन शुल्क पूर्णरूपमा हटाइनेछ। त्यस्तै, पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्क पनि पूर्णरूपमा छुट दिइनेछ भने अन्तर्राष्ट्रिय उडानमा लाग्ने ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

सरकारको यो कदमलाई दुवै विमानस्थलको अन्तर्राष्ट्रिय उडान संख्या बढाउनको उपायका रूपमा हेरिएको छ। अर्बौं रुपैयाँको लगानीमा निर्माण सम्पन्न भए पनि पोखरा र गौतमबुद्ध विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका हिसाबले अझै अपेक्षित स्तरमा पुगेका छैनन्। पोखरा विमानस्थलमा चीनको चार्टर उडान बाहेक स्थायी अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन भने गौतमबुद्ध विमानस्थलमा पनि सीमित गन्तव्यतर्फ मात्रै उडान भइरहेको छ।

शुल्क छुटले एयरलाइन्सको सञ्चालन लागत घटाएर नयाँ गन्तव्य उडान सुरु गर्न प्रेरणा दिन सक्ने अनुमान गरिएको छ। जसले यात्रु भाडा कम हुने र पर्यटक संख्या बढ्ने सम्भावना खोल्छ।  मन्त्रालयले यो नीतिको प्रभावबारे नियमित मूल्यांकन गर्ने र यात्रु तथा एयरलाइन्सको प्रतिक्रिया अनुसार आवश्यक सुधार गर्ने तयारी गरिरहेको जनाएको छ।

tourism 1.jpg


प्रकाशित : आइतबार, साउन २५ २०८२०७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend