बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

निजी क्षेत्रको हालसम्मकै ठूलो जलविद्युत् परियोजना निर्माणमा १० बैंकको ५२ अर्ब ऋणको सहमति

शुक्रबार, साउन २३ २०८२
निजी क्षेत्रको हालसम्मकै ठूलो जलविद्युत् परियोजना निर्माणमा १० बैंकको ५२ अर्ब ऋणको सहमति

आयोजनाको अनुमानित लागत ७० अर्ब रुपैयाँ छ। जसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५० करोड रुपैयाँ १० वटै बैंकबाट सहवित्तीयकरणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट व्यवस्था गरिनेछ।

काठमाडौं- साहस ऊर्जा लिमिटेडको सहायक कम्पनी टाइम्स इनर्जी प्रालिले प्रवर्द्धन गर्न लागेको ३ सय ४१ मेगावाट क्षमताको बुढीगण्डकी अर्धजलाशय जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

आयोजनाको अनुमानित लागत ७० अर्ब रुपैयाँ छ। जसको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५० करोड रुपैयाँ १० वटै बैंकबाट सहवित्तीयकरणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ स्वपुँजीबाट व्यवस्था गरिनेछ।

बिहीबार काठमाडौँमा आयोजित समारोहमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र प्रवर्द्धक कम्पनीबीच औपचारिक ऋण लगानी सम्झौता भएको हो। सम्झौतापत्रमा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र सहवित्तीयकरणको नेतृत्वकर्ता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे।

ऋण लगानीको नेतृत्व नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्दैछ, जसले १० अर्ब रुपैयाँ लगानी गर्नेछ। नबिल बैंकले ८ अर्ब, लक्ष्मी सनराइजले ८ र ग्लोबल आईएमई बैंकले ७ अर्ब, हाइड्रो इलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनीले ४ अर्ब, माछापुच्छ्रे बैंकले ४ अर्ब, सिटिजन्स, इन्फ्रास्ट्रक्चर र प्रभु बैंकले समान ३/३ अर्ब र कृषि विकास बैंकले २ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।

साहस ऊर्जा लिमिटेडले ५१ प्रतिशत स्वामित्व रहेको टाइम्स इनर्जी प्रालिले यो आयोजनाको प्रवर्द्धन गरिरहेको छ। त्यसैले स्वपुँजीतर्फको ५१ प्रतिशत हिस्सा साहस ऊर्जाबाट नै जुटाइनेछ।

यो आयोजनाको बाँध गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको वडा नम्बर ३ मा निर्माण हुनेछ भने करिब १० किलोमिटर तल धार्चे गाउँपालिकाको वडा नम्बर ३ मा भूमिगत विद्युत्‌गृह निर्माण गरिनेछ। आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ र २०८० साल पुस ५ गते नै विद्युत् उत्पादन अनुमतिपत्र पाएको छ।

बुढीगण्डकी नदीको दायाँ किनारमा बाँध बाँधिने र त्यसबाट पानीलाई इन्टेकमार्फत फर्काएर सेटलिङ बेसिन, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप हुँदै भूमिगत विद्युतगृहमा पुर्‍याइनेछ। त्यहाँ ५७ मेगावाट क्षमताका ६ वटा भर्टिकल एक्सिस पेल्टोन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ। आयोजनाको कुल हेड ३९८ मिटर र डिजाइन बहाव १००.२७ घनमिटर प्रतिसेकेन्ड हुनेछ।

कम्पनीले २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। आयोजना वार्षिक १ हजार ८ सय ६७ गिगावाट घण्टा विद्युत् उत्पादन गर्नेछ। उत्पादित विद्युत् करिब ४५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमार्फत मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनाअन्तर्गत निर्माण हुने ४०० केभी नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ।

यसअघि पूर्वी नेपालको तमोर नदीमा निर्माणाधीन २८५ मेगावाटको माथिल्लो तमोर आयोजनाको ५५ अर्ब रुपैयाँ लगानीको व्यवस्थापन भइसकेको छ। साहस ऊर्जाले निर्माण गरी सञ्चालनमा ल्याएको ८६ मेगावाटको सोलुखोला दूधकोशी आयोजनाको सफल अनुभवकै आधारमा यो आयोजना पनि समयमै सम्पन्न गरिने दाबी गरिएको छ।

समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'नेपालमा केही हुँदैन' भन्ने नकारात्मक मनोवृत्तिलाई यो आयोजनाले ठोस जवाफ दिएको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले यो आयोजना आकर्षक र सम्भावनायुक्त रहेको उल्लेख गर्दै समयमै सम्पन्न हुने अपेक्षा व्यक्त गरे।

इप्पान अध्यक्ष गणेश कार्कीले सरकारबाट आवश्यक सहजीकरण मात्र पाएको खण्डमा पनि निजी क्षेत्रले ठूला आयोजनाहरू सम्पन्न गर्न सक्ने क्षमताको पुष्टि यो आयोजनाबाट हुने बताए। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेले साहस ऊर्जा नेतृत्वको पूर्वअनुभवप्रति विश्वासले नै बैंकहरूलाई लगानी गर्न प्रेरित गरेको बताए।


प्रकाशित : शुक्रबार, साउन २३ २०८२११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend