काठमाडौं- विश्वभर चिप्सको अभावका कारण कार उत्पादन कटौती भइरहेको छ। जसको असर कार उपभोक्तामा प्रत्यक्ष असर परेको छ। उपभोक्ताले चाहे अनुसारको कार खरिद गर्न पाइरहेका छैनन्।
त्यसको असर नेपाली बजारमा समेत परेको छ। नजिकिँदै गरेको दसैँअघि नेपालमा कारको माग उच्च हुने गरेको छ। अघिल्लो वर्ष कोरोनाका कारण कारको बिक्री हुन सकेको थिएन। तर यो वर्ष भने कारको माग उल्लेख्य रहेको बिक्रेताको भनाइ छ।
कोरोनाको संक्रमण आउनुपूर्व सवारी बिक्रेताहरूको संस्था नाडाले हरेक वर्ष नाडा अटो शो गर्दै आएको थियो। दसैँतिहारको समयमा एक वर्षमा बिक्री हुने कुल सवारीको करिब ४० प्रतिशत बिक्री हुने गरेको छ।
तर यो वर्ष कोरोना भाइरसको संक्रमण घटेसँगै कार किन्न चाहनेहरुको संख्या बढेको छ। उता कार उत्पादनमै कमी आएको छ।
अघिल्लो वर्ष कोरोना भाइरसको संक्रमण उच्च हुँदा ‘डिमान्ड एन्ड सप्लाई’ चेन बिग्रिएको र यो वर्ष कार उत्पादनमा प्रयोग हुने चिप्स अभाव देखिएको छ। जसका कारण कारको माग उच्च भए पनि आपूर्ती भने सोही अनुसार हुन सकेको छैन।
अहिले विश्वभरका कार उत्पादकहरूले कार उत्पादनमा प्रयोग हुने ‘माइक्रो चिप्स’को अभाव खेपिरहेका छन्। लकडाउनपछि सबै उत्पादन ठप्प रहेको र त्यसपछि खुलेको बजारमा कारको माग उच्च भएकाले भत्किएको उत्पादन र सप्लाइ चेनको सन्तुलन मिल्न सकेको छैन।
यो असरबाट भारतीय अटोमोबाइल बजार पनि उत्रिन सकेको छैन। चाडपर्वको सिजनमा भारतमा कारको माग उच्च हुने गरेको छ।
यो वर्षको चाडपर्व सिजनमा भारतीय कार बजारमा माग र आपूर्तीबीचको अन्तर करिब १ लाख वटा कार\एसयुभी हुने अनुमान उत्पादकले गरेको इकोनोमिकटाइम्सले गरेको थिया।
भारत र नेपालमा चाडपर्वको सिजन एकैपटक सुरु हुने भएकाले पनि नेपाली बजारमा कार माग अनुसार आपूर्ति नहुने निश्चित छ।
कारको माग उच्च भए पनि त्यही अनुसार आपूर्ति हुन नसकेको किया मोटर्सकको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङका असिस्टेनट जनरल म्यानेजर अनिस लामिछानेले बताए।
‘हामीले उत्पादक कम्पनीबाट चाहे अनुसारको संख्यामा कार पाउन सकेका छैनौँ,’ लामिछानेले भने, ‘यहाँ माग उच्च भएपनि कार आपूर्ति हुन नसक्दा ग्राहक आउने वित्तिकै डेलिभरी दिन सक्ने अवस्था छैन।’
यो समस्या नेपालमा कार बिक्री गर्ने सबैखाले कम्पनीमा रहेको उनको भनाइ छ। दसैँअघि उपभोक्ताले आफूले चाहेको भेरियन्ट र कलरको कार पाउने सम्भावना ज्यादै न्यून रहेको लामिछानेले बताए।
नेपालमा आयात हुने सबै मुख्य कार ब्रान्डको आपूर्ति लामो समयदेखि स्थिर छ। तर दसैँ नजिकिएसँगै कारको माग बढेको टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको प्यासेन्जर बिजनेस हेड सावन्तजंग सिजापतीले बताए।
‘चिप्स अभावले संसारभर नै कारको अभाव देखिएको छ। अमेरिकामा पनि पर्याप्त मात्रामा नयाँ कार उत्पादन नहुँदा सेकेन्ड ह्याण्ड कारको बिक्री बढेको छ,’ उनले भने, ‘त्यसको प्रभाव कार आयात गर्ने हाम्रो देशमा पनि परेकै छ। कारको माग उच्च भएकाले आपूर्ति भएअनुसार उपभोक्तालाई दिँदै जाने छौँ।’
उपभोक्ता आएअनुसार बुकिङ गरिरहेको भएपनि चाहेको मोलड पाउन कठिन भएको उनको भनाइ छ। ‘तत्काल चाहियो भन्ने ग्राहकलाई भने खोजेकै मोडल दिन सकेका छैनौं,’ सिजापतीले भने, ‘यो समस्या दसैँअघिसम्म कायमै रहने देखिन्छ।’
नेपाली बजारमा सुजुकी, किया, टाटा, फोर्ड, जिप, स्कोडा, टोयोटा, निसान, हुन्डाई, रेनो, एमजी, माज्दा, महिन्द्रा, ग्रेटवाल, फक्सवागन इसुजु, प्युजो, स्याङयोङ, डिएफएसकेलगायत ब्रान्डका कार बिक्री हुँदै आएको छ। त्यस्तै अन्य केही ब्रान्डका इलेक्ट्रिक कार समेत बिक्री हुँदै आएको छ।
भारतको अवस्था
अक्टोबरदेखि दिवालीको सयम नोभेम्बरसम्म भारतीय कार उत्पादकहरुले मागअनुसार उत्पादन गर्न नसक्दा डढे अर्ब अमेरिकी डलरसम्मको व्यापार गुमाउँदै छन्। कार उत्पादन गर्न नसक्नुको कारण चिप्स अभाव नै हो।
सेप्टेम्बरको अन्त्यसम्ममा भारतीय कार उत्पादनकहरुले १ लाख ८०\९० हजारसम्म कार र एसयुभी उत्पादन गरि बजार पठाउने छन्। यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत कम हो।
पछिल्लो ५ वर्षको सेप्टेम्बर महिनाको औषत उत्पादन २ लाख ७९ हजार वटा कार तथा एसयुभी रहेको छ। चाडपर्व सुरु हुनुपूर्वको स्टक पनि यो वर्ष सबैभन्दा कम अर्थात करिब २ लाखदेखि २ लाख ५० हजार वटासम्म मात्र छ।
गत वर्ष नवरात्रीदेखि दिवालीसम्मको ४० दिनमा भारतमा ४ लाख ५५ हजार वटा कार बिक्री भएको थियो।
कार उत्पादकहरूले सेप्टेम्बरका लागि २ लाख २५ हजार वटा कार उत्पादनको योजना बनाएका छन्। जब कि गत वर्ष सेप्टेम्बरमा ३ लाख ४० हजारवटा कार उत्पादन भएको थियो।
चाडपर्वका लागि कारको माग उच्च रहे पनि उत्पादन बढाउन नसक्ने अवस्था रहेको कार उत्पालदकहरुले बताएका छन्।
भारतमा कार उत्पादन बढ्न नसक्दा त्यसको प्रत्यक्ष असर नेपालमा समेत परिरहेको छ। नेपाल आउने ८० प्रतिशतभन्दा बढी सवारी भारतमै उत्पादन हुन्छन्।
कोरोना भाइरसको दोस्रो लहरसँगै जारी निषेधाज्ञा खुलेपछि सवारी बजार चलायमान देखिएको छ। दसैँतिहार नजिकिँदै गर्दा सवारीसााधनको माग स्वभाविक रुपमा वृद्धि हुने गरेको छ। लकडाउन खुलेपछि पनि उपभोक्ताले रोजेको कार किन्न केही समय पर्खनु पर्ने अवस्था छ।