बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बूढीगण्डकी जलविद्युत् आयोजनामा निजी क्षेत्रको हालसम्मकै ठूलो लगानी : १० बैंकबाट ७० अर्ब रुपैयाँ

मंगलबार, साउन २० २०८२
बूढीगण्डकी जलविद्युत् आयोजनामा निजी क्षेत्रको हालसम्मकै ठूलो लगानी : १० बैंकबाट ७० अर्ब रुपैयाँ

निजी क्षेत्रबाट निर्माण हुने हालसम्मकै सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी आंशिक-जलाशय (पिकिङ रन अफ द रिभर) जलविद्युत् आयोजनामा १० बैंक तथा वित्तीय संस्थाले कूल ७० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्।

काठमाडौं- निजी क्षेत्रबाट निर्माण हुने हालसम्मकै सबैभन्दा ठूलो ३४१ मेगावाट क्षमताको बूढीगण्डकी आंशिक-जलाशय (पिकिङ रन अफ द रिभर) जलविद्युत् आयोजनामा १० बैंक तथा वित्तीय संस्थाले कूल ७० अर्ब रुपैयाँ लगानी गर्ने भएका छन्। आयोजनाको मूख्य प्रवर्द्धक भने सहास ऊर्जा लिमिटेड हो।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सन्राइज बैंक, ग्लोबल आइएमई बैंक लगायतका संस्थाहरूले आयोजनामा कन्सोर्टियम निर्माण गरेका छन्। अन्य सहभागी संस्थाहरूमा माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, प्रभु बैंक, कृषि विकास बैंक र हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) रहेका छन्।

आयोजनाको कुल लगानीमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट लिइने ऋणमार्फत जुटाइनेछ भने बाँकी २५ प्रतिशत स्वपूँजीबाट व्यवस्थापन गरिनेछ। आयोजना प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीको मातृसंस्था साहस ऊर्जा स्वपूँजीको ५१ प्रतिशत हिस्सा लगानी गर्नेछ।

लगानी व्यवस्थापन सुनिश्चित भएसँगै निर्माण कार्य आगामी २०८२ सालको चैत महिनाबाट सुरु गर्ने तयारी भइरहेको छ। 

गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने सो आयोजना ३९८ मिटर जलस्रोतको उचाइ (हेड) र १००.२७ क्युसेक पानीको बहावको प्रविधिमा आधारित छ। आयोजना सम्पन्न भएपछि २०८७ साल पुस १५ गतेदेखि व्यावसायिक उत्पादन सुरु हुने लक्ष्य लिइएको छ। अनुमानित उत्पादन क्षमता वार्षिक १ हजार ८६७ गिगावाट घण्टा रहेको छ।

आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्न करिब ४५ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ, जुन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माणाधीन ४०० केभी क्षमताको नुवाकोटको रातमाटे सबस्टेसनमा जोडिनेछ।

यसअघि निजी क्षेत्रकै नेतृत्वमा तमोर नदीमा २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छ। तर, क्षमताको हिसाबले बूढीगण्डकी आयोजनाले निजी क्षेत्रबाट निर्माण हुने जलविद्युत् आयोजनामध्ये हालसम्मकै ठूलो आयोजना बन्नेछ।

सहास ऊर्जाले यसअघि ५ मेगावाट क्षमताको रुरु जलविद्युत परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत परियोजना सफलता पुर्वक सम्पन्न गरी राष्ट्रिय प्रसारणमा जोडिइसकेको छ। 


प्रकाशित : मंगलबार, साउन २० २०८२०८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend