बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बागमती प्रदेशका मुख्यमन्त्री लामाले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु

सोमबार, साउन १९ २०८२
बागमती प्रदेशका मुख्यमन्त्री लामाले बुझाए राजीनामा, नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु

पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका हुन्।

बागमती- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिएका छन्। आफ्ना प्रमुख स्वकीय सचिव छत्रबहादुर लामामार्फत मुख्यमन्त्री लामाले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।

प्रमुख स्वकीय सचिव लामाले आज हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री लामाको राजीनामा पत्र बुझाएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जानकारी दिए।

'मुख्यमन्त्री लामाको राजीनामा पत्र अहिले भर्खरै दिउँसो १ बजेतिर हाम्रो कार्यालयमा आइपुग्यो', प्रवक्ता सापकोटाले भने, 'प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उपचार गराइ हेटौँडास्थित कार्यालय फर्किसक्नुभएको छ, अब छिट्टै नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू हुन्छ।'

सम्भवतः आजै प्रदेश प्रमुख देवकोटाले नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू गर्ने सम्भावना रहेको उनको भनाइ छ।

मुख्यमन्त्री लामा पत्रकार सम्मेलनलगत्तै आइतबार साँझ राजीनामा बुझाउन हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए। तर प्रदेश प्रमुख देवकोटा त्यहाँ नरहेकाले त्यसै फर्किएका थिए। त्यसपछि उनी राजीनामा पत्रमा हस्ताक्षर गरेर प्रमुख स्वकीय सचिव लामालाई राजीनामा पत्र जिम्मा लगाइ काठमाडौं हिँडे।

यही साउन १४ गते भएको पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री लामाले राजीनामा दिएका हुन्। मुख्यमन्त्री लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलमा निर्वाचित बानियाँको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१४:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend