शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम, सिसमहलमा बढ्दो आकर्षण

सोमबार, साउन १९ २०८२
पर्यटकीय गन्तव्य बन्दै शान्तिधाम, सिसमहलमा बढ्दो आकर्षण

पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रीनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ। मन्दिर कलात्मक र सुन्दर छ।

काठमाडौं- काठमाडौंको उत्तरी क्षेत्र तारकेश्वरको शान्तिधाम पर्यटकीय गन्तव्य बन्दै गएको छ। शान्तिधाम तथा त्यसभित्र रहेको सिसमहलमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ।

विसं २०६८ मा तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा चारधाम मन्दिर निर्माण गर्ने उद्देश्यले ‘शान्तिधाम’ दर्तापछि उक्त परिसरमा बद्रीनारायण मन्दिर र सिसमहल निर्माण गरिएको थियो। विसं २०७३ को निर्जला एकादशीमा शिलान्यास भइ २०७५ रामनवमीमा निर्माण सम्पन्न भएको बद्रीनारायण मन्दिर दर्शन गर्न दैनिक सयौँ पर्यटक तथा दर्शनार्थी यहाँ घुम्न आउने गरेका छन्। बिदाको समयमा भने यहाँ सर्वसाधारण मन्दिरको दर्शन गर्न सिसमहलको अवलोकन गर्न आउँछन्।

बिहान र बेलुकामात्र खुल्ने उक्त मन्दिर मध्याह्न १२ बजेदेखि ३ बजेसम्म बन्द रहन्छ। शनिबार भने बिहानदेखि बेलुकासम्म नै मन्दिर खुला रहने बृहत् शान्तिधाम नेपालका संस्थापक मठाधीश चतुर्भुजाचार्य चुडामणिजी महाराजले जानकारी दिए। पन्ध्र करोडको लागतमा निर्माण भएको बद्रीनारायण मन्दिर द्राविड शिखर शैलीमा बनाइएको छ। मन्दिर कलात्मक र सुन्दर छ।

'हजारौँ नेपाली अर्बौँ रकम खर्च गरेर छिमेकी मुलुक भारतका विभिन्न मठमन्दिर तथा धाम घुम्न जाने गरेका छन्, भारतमा रहेका धाम नेपालमै दर्शनको व्यवस्था मिलाउन बृहत शान्तिधाम नेपाल स्थापना गरी मठमन्दिर र धाम निर्माण गर्न लागेका छौँ', उनले भने।

शान्तिधामभित्र बद्रीनारायण धाम निर्माण भए पनि रामेश्वरम धाम भने निर्माण भइरहेको छ। उक्त धाम पनि चाँडो निर्माण सम्पन्न गरेर प्राण प्रतिष्ठा गरिने मठाधीशले बताए। द्वारिकाधीश धाम र जगन्नाथ धाम निर्माण गर्ने योजना रहेको उनको भनाइ छ।

कुल एकसय रोपनी क्षेत्रफलमा फैलिएको शान्तिधाम परिसरभित्र आयुर्वेद अस्पताल, वृद्धाश्रम, अनाथालय, गौशाला, गुरुआश्रम, धर्मशाला, अतिथि निवास र क्रियापुत्री भवन निर्माण गर्ने लक्ष्य छ।

नेपालमा पहिलोपटक एकै स्थानमा चारधाम मन्दिर, गौशाला, वृद्धाश्रम, अनाथालय, बाचनलय, भोजनालय, सांगीतिक हलका साथै सुन्दर मुक्ति सरोवर निर्माण गरिएको शान्तिधाममा विशेष अक्षय तृतीयाका दिनमा ठूलो मेला लाग्छ। त्यसबाहेक कृष्ण जन्माष्टमी र एकादशीमा पनि मेला लाग्छ।

शान्तिधाममा दैनिक एकसय भक्तजनलाई आवास तथा भोजनको व्यवस्था गर्ने उद्देश्य भए पनि आर्थिक अभावले समस्या भइरहेको छ। यहाँ दुई वर्षअघि सिसमहल निर्माण गरिएको हो। सिसमहलबाट हाल मासिक पाँच लाखदेखि १० लाख रूपैयाँसम्म आम्दानी भइरहेको मठाधीसले बताए।

शान्तिधाम परिसरमा बन्न लागेका संरचनाका लागि तारकेश्वर नगरपालिकाले आर्थिक सहयोग गर्दै आएको उपप्रमुख सिर्जना बुर्लाकोटीले बताइन्। रासस


प्रकाशित : सोमबार, साउन १९ २०८२१४:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend